नेकपा (एमाले) का सचिव एवं गुल्मी क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य गोकर्ण विष्टले पुसभित्रै नयाँ सरकार गठनको सम्भावना नरहेको बताएका छन् ।
गुल्मी सदरमुकाम तम्घासस्थित रेसुङ्गा बहुमुखी क्याम्पसको ३५औं वार्षिकोत्सवको उदघाटन गर्न शुक्रबार आएका विष्टले सञ्चारकर्मीसँगको भेटमा निर्वाचन आयोगले अविलम्ब समानुपातिकतर्फको परिणाम घोषणा गर्नुपर्ने भन्दै त्यसपछि मात्र नयाँ सरकारको ढोका खुल्ने बताए ।
एमाले र नेकपा (माओवादी केन्द्र) बीच पटक–पटक संवाद भइरहेको भन्दै पार्टी एकताबारे आशंका नगर्न उनले आग्रह गरे । वाम गठबन्धनमा कुनै प्रकारको जटिलता नरहने गरी सहज ढंगले समाधान निस्कने र त्यसको सहज ढंगले व्यवस्थापन हुनेमा जोड दिँदै एकताले केही समय लिन सक्ने उनले स्पष्ट पारे ।
५ नंं. प्रदेशको राजधानी रुपन्देही नै हुनुपर्ने भन्दै नेता विष्टले शान्तिका अग्रदूत गौतम बुद्ध जन्मेको प्रदेशमा राजधानी कहाँ रहने भन्ने विषयमा धेरै विवाद गर्नुपर्ने अवस्था नरहेको जिकिर गरे ।