नेकपा (एमाले) सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले राजधानीमा आयोजना गरेको विरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेपछि मंगलबार दिउँसो झडप भएको छ । झडपमा ६ जना विद्यार्थीहरु घाइते भएका छन् ।
झडपका क्रममा अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष महेश बर्तौला, महासचिव ऐन महर, शेखर बोहोरालगायत ६ जना घाइते भएको केन्द्रीय सचिव आरसी लामिछानेले बताएका छन् ।
बर्तौलाको टाउको र महरको खुट्टामा गम्भीर चोट लागेको छ । बर्तौलाको टाउकामा १७ वटा टाँका लगाइएको छ । दुवैको प्रदर्शनीमार्गस्थित काठमाडौं मोडेल अस्पतालमा उपचार भइरहेको छ ।
निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक गर्न ढिलाई गरेको, प्रधानमन्त्री शेरबहादुर देउवाको अकर्मण्यता तथा मूल्यवृद्धिका विरुद्ध अखिलले आयोजना गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको जानकारी लामिछानेले दिएका छन् ।
विद्यार्थीहरूले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको पुतलासहित प्रदर्शन गरिरहँदा प्रहरीले पुतला खोसेपछि झडप भएको अनेरास्ववियुकी उपाध्यक्ष सुनीता बरालले बताइन् । पुतला खोस्ने क्रममा प्रहरीले लाठी प्रहार गर्दा विद्यार्थी नेताहरू घाइते भएका हुन् । विद्यार्थीले पनि ढुङ्गा हान्न थालेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।