नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचकाे पार्टी एकता, नयाँ सरकारको गठन र राष्ट्रियसभा निर्वाचनको चटारोबीच नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार दिउँसो चितवन जाने भएका छन् ।
अध्यक्ष प्रचण्ड शुक्रबार चितवनमै बसेर शनिबार बिहान मात्र काठमाडौं फर्कने बताइएको छ । यसो हुँदा पार्टी एकताका विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग हुने भनिएको भेट अनिश्चित भएको छ ।
मंगलबारको पार्टी बैठकमा आफूले एमाले अध्यक्ष ओलीसँग बुधबार नै भेटेर ठोस कुराकानी गर्ने बताएका थिए । तर, बुधबार प्रचण्ड–ओलीबीच भेट भने हुन सकेन ।
प्रचण्डको निजी सचिवालयका अनुसार शुक्रबार हुने भरतपुर महानगरपालिकाको नगरपरिषदमा सहभागी हुन उनी दिउँसो साढे २ बजे चितवन जान लागेका हुन् । प्रचण्डको गृहनगर भरतपुरमा उनकी छोरी रेणु दाहाल मेयर छिन् ।
बिहीबार बिहान भने अध्यक्ष प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा सहभागी हुन बालुवाटार पुगे ।