newskoseli.Com

शिक्षिकाको मासिक तलब जम्मा १ हजार !

विद्यालयमा पढाउने शिक्षकको तलब कति होला ? कसैले जिज्ञासा राखे सहजै उत्तर आउँछ, १० हजार रूपैयाँभन्दा माथि नै होला ।

तर, कञ्चनपुरको पुनर्वास नगरपालिका– ८, मोतियाफाँटामा रहेको नवदुर्गा आधारभूत विद्यालयमा पढाउँदै आएकी एक शिक्षिकाले मासिक १ हजार रूपैयाँ मात्र तलब पाउँदै आएकी छन् । विद्यालयको आन्तरिक स्रोत न्यून भएपछि विद्यालयकी निजी स्रोतकी शिक्षिका युगमाया शाहीले थोरै तलबमा पढाउँदै आएकी हुन् ।

सुकुम्बासी दलित वस्तीमा सञ्चालित विद्यालयमा अधिकांश अभिभावकको आर्थिक अवस्था दयनीय भई आन्तरिक स्रोत नभएपछि न्यून तलबमा शिक्षक राखिएको हो । विद्यालयको आन्तरिक स्रोत थोरै भएकाले थोरै तलबमा चित्त बुझाउनु परेको शिक्षिका शाहीले बताइन् ।

भारतमा मजदुरी गर्दै आएका उक्त वस्तीका बासिन्दाले केही रकम बचार्इ चन्दा संकलन गरेर विद्यालय सञ्चालन गर्दै आएका छन् । न्यून आयस्रोतका कारण कक्षा ५ सम्म पढाइ हुने नवदुर्गामा २ जना अस्थायी दरबन्दीमा र एक जना राहतमा तथा एक जना निजी गरी जम्मा चार जना शिक्षक–शिक्षिकाबाट अध्यापनरत रहेको विद्यालयका प्रधानाध्यापक लक्ष्मी अर्यालले बताए ।

विद्यालय सञ्चालनमा रहेको १० कट्ठा जग्गा समेत राष्ट्रिय आवास कम्पनीको नाममा दर्ता रहेको शिक्षक अभिभावक संघका अध्यक्ष वीरे बुढाले बताए । नेपाल–भारत सीमादेखि करिव २ सय मिटर भित्र रहेको नवदुर्गा आधारभूत विद्यालय गाउँलेहरुको पहलमा २०५५ मा काठ र खरको टहरो निर्माण गरी सञ्चालन थालिएको हो । यस विद्यालयलार्इ २०६३ मा जिल्ला शिक्षा कार्यालय कञ्चनपुरले मान्यता दिएको थियो ।

विद्यालयमा पर्याप्त कक्षाकोठा छैनन्, तारबार छैन, गतिलो शौचालय छैन तर पनि सुकुम्बासी वस्तीका बालबालिकालाई साक्षर गराउन लागिपरेको समाजसेवी सोना मिजारले बताए । एक दशकअघि स्वीकृति पाएको नवदुर्गा विद्यालयले दुई जना अस्थायी दरबन्दी र एक जनाको राहत कोटाबाहेक कुनै सुविधा प्राप्त गर्न सकेको छैन । न त जिल्ला शिक्षा कार्यालयले नै हेर्ने गर्छ, न त नगरपालिकाको वार्षिक योजनामा नै पर्ने गर्छ– स्थानीयवासीको गुनासो छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर