चाँगुनारायण नगरपालिका– ६, पीपलबोट, भक्तपुरबाट १३ किलो ५ सय ग्राम अवैध गाँजासहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो र महानगरीय प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले अवैध गाँजासहित पूर्णिमाया तामाङलाई उनकै घरबाट बिहीबार पक्राउ गरेको हो ।
तामाङले आफ्नै घरकोठामा गाँजा सञ्चित गरी बिक्रीवितरण गर्दै आइरहेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा अवैध गाँजासहित उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिएका छन् ।
तामाङलाई महानगरीय प्रहरी परिसर भक्तपुरमा राखी लागूऔषध ओसारपसार ऐनअन्तर्गत म्याद थप गरेर अनुसन्धान भइरहेको प्रनाउ प्रसाईंले बताए ।