प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनकाे प्रचारप्रसारका क्रममा नेपाली कांग्रेसका नेता गगनकुमार थापामाथि बम आक्रमण गरेको अभियोगमा पक्राउ परेकामध्ये तीन जनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार धरौटीमा रिहा गरेको छ ।
बम अाक्रमणमा संलग्न भनिएका महेश नेपाली, बिग्रेश लामा र रोशन विष्टलाई प्रतिव्यक्ति ६० हजारका दरले धरौटी रकम लिएर जिल्ला प्रशासन कार्यालयले रिहा गरेको हो । कार्यालयले २ जनालाई भने पुर्पक्षका लागि अझै थुनामा राखेको छ । अभियुक्तद्वय रवि गोले र विचारमान तामाङलाई पुर्पक्षका लागि थुनामा राख्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
अर्का अभियुक्त राधी तामाङलाई भने नुवाकोटमा अर्को मुद्दा रहेकाले प्रहरीले नुवाकोटमा पठाइदिएको छ । प्रशासन कार्यालयले उनीहरु सबैलाई ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा लगाएको थियो । घटनालगत्तै पक्राउ परेकामध्ये ६ जनाविरुद्ध तत्काल जिल्ला अदालत काठमाडौंमा विस्फोटक पदार्थको प्रयोग तथा ओसारपसारसम्बन्धी मुद्दा दायर भएको थियो ।
अदालतले बुधबार उनीहरुलाई जनही १० हजार रूपैयाँका दरले धरौटी लिएर रिहा गरेको थियो । अदालतले रिहा गरेलगत्तै प्रहरीले पक्राउ गरेर उनीहरुलाई जिल्ला प्रशासन कार्यालयमा बुझाएको थियो । जिल्ला प्रशासन कार्यालयले पनि दुई जनाबाहेक सबैलाई रिहा गरेकामा घटनाका पीडितले असन्तोष जनाएका छन् । मानिसको ज्यान समेत जान सक्ने गरी बम पड्काउनेले १० हजार रूपैयाँ तिर्दैमा छुटकारा पाउने कानुनी व्यवस्था व्यावहारिक र न्यायपूर्ण नभएको उनीहरुको भनाइ छ ।
घाइतेले दोषीलाई कारबाही गर्नेभन्दा पनि मुक्ति दिने गरी प्रमाण जुटाउने बेलामा नै मुद्दा कमजोर बनाइएको भन्दै आक्रोश व्यक्त गरेका छन् । काठमाडौं क्षेत्र नं. ४ मा कांग्रेसका तर्फबाट प्रतिनिधिसभाका लागि उम्मेदवार भएर घरदैलो गरिरहेका बेला थापासहितको टोलीलाई लक्ष्य गरी काठमाडौंको चपलीमा मंसिर १८ मा बम आक्रमण भएको थियो । आक्रमणबाट थापासहित ११ जना घाइते भएका थिए ।