newskoseli.Com

ह्वात्तै बढे हलेसी आउने पर्यटक : कारण, जयरामघाटमा पुल

राजधानी काठमाडौंलगायत तराईका जिल्ला जाने प्रमुख मार्ग जयरामघाटमा पक्की पुल बनेपछि धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या ह्वात्तै बढेको छ ।

खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने जयरामघाटस्थित दूधकोशीमा मोटरेवल पक्की पुल बनेपछि आवतजावतमा सहज भएकाले हलेसी आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेको हो ।

निर्माण थालेको ९ वर्षपछि बल्ल पक्की पुल सञ्चालनमा आएपछि हिउँद–वर्षा बाह्रैमास नदी वारपार गर्ने वातावरण बनेसँगै हलेसीमा दर्शनार्थी, पर्यटक ओइरिन थालेको हलेसी विकास समितिका कार्यकारी निर्देशक सम्बरबहादुर भुजेलले बताए । “जयरामघाटमा पक्की पुल बनेसँगै सहजरुपमा सवारी साधनबाट सिधै दूधकोशी तरेर हलेसी आउने वातावरण बनेको छ”, उनले भने– “यसअघि सुनसानजस्तै हुने हलेसीमा पछिल्लो समय दैनिकजसो आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो भीड लाग्ने गरेको छ ।”

मध्यपहाडी लोकमार्गले छोएका कारण हलेसी आउन सहज भए पनि पुलको अभावमा वर्षाको समयमा आन्तरिक तथा बाह्य दर्शनार्थी कम आउने गरेका थिए । जयरामघाटको पक्की पुल गत मंसिर ८ गतेदेखि सञ्चालनमा आएको हो । हिन्दू, बौद्ध र किरात धर्मालम्बीको त्रिवेणीस्थल मानिने हलेसीमा नेपाललगायत छिमेकी राष्ट्र भारत, चीन, भुटान, बंगलादेश, कोरियालगायतका हजारौँ दर्शनार्थी आउने गरेका छन् ।

हलेसीमा आन्तरिक तथा बाह्य पर्यटक बढेसँगै व्यापार व्यवसाय पनि फस्टाउँदै गएको उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताए । “विगत वर्षमा खाली रहने हलेसीका होटल अहिले भरिभराउ छन्”, उनले भने– “पर्यटक र दर्शनार्थीको संख्या बढ्न थालेपछि सुविधा सम्पन्न होटल खोल्नेक्रम पनि सुरु भएको छ ।”

धार्मिक तथा सांस्कृतिकरुपले प्रसिद्ध मानिने तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । महादेवगुफा, धर्मद्वार, पापद्वार, बसाहागुफा, भैरवगुफा, दुङ्देलोगुफा लगायतका धार्मिक तथा पर्यटकीयस्थल अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक र दर्शनार्थी आउने गरेको जानकारी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हर्कराज राईले दिए ।

सदरमुकाम दिक्तेलबाट पश्चिमी क्षेत्रमा पर्ने हलेसीमा रामनवमी, शिवरात्री, बालाचर्तुदशी, हरितालिका तीजलगायतमा ठूलो मेला लाग्ने गर्दछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर