newskoseli.Com

४० हल गोरु जुधाइए बझाङी राजाको ‘स्वागत’ मा…

माघे संक्रान्ति पर्वका अवसरमा सोमबार तारुका, वेत्रवाती र पञ्चकन्यामा ४० हल (८० वटा) गोरु जुधाइयो ।

किसानले पालेका गोरु प्रतिस्पर्धा अन्तर्गतको हरेक वर्ष आयोजना गरिने ‘गोरु जुधाई प्रतियोगिता’ लाई यस वर्ष पनि निरन्तरता दिइएको हो । हिउँदको फुर्सदिलो समयमा खेतबारीमा गोरु जुधाइने पुरानै रीति भए पनि बझाङी राजा जयपृथ्वीबहादुर सिंह मामाघर आएका बेला भान्जालाई मनोरञ्जन दिलाउन गोरु जुधाइने प्रचलन रहिआएको छ ।

‘तारुकाको पौरख, नेपालको गौरव’ नारासहित तारकेश्वर गाउँपालिका– ३, तारुकाको चन्दनीमा २० हल गोरुबीच प्रतिस्पर्धा गराइएको माघे संक्रान्ति गोरु जुधाइ संरक्षण संस्थाका अध्यक्ष शिवबहादुर अधिकारीले बताए । प्रतिस्पर्धामा विजेता भएका गोरुधनीलाई ५ हजार र उपविजेतालाई ३ हजार रूपैयाँसहित प्रमाणपत्र दिइयो ।

नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले गोरु जुधाइ प्रतियोगिताको उद्घाटन गर्दै संस्कृति र परम्पराका लागि स्थानीयवासीबाट चलाउँदै आएको मेलालाई आगामी दिनमा सरकारको पहलमा सञ्चालन गरिने बताए । “गोरु जुधाइस्थलसम्म पुग्ने कच्ची मोटरबाटोलाई व्यवस्थित गर्नु र गोरु जुधाइने गरिएको किसानको बारीलाई गुठीका रुपमा विकास गरी संरक्षण गर्नु राज्यको दायित्व हो”, पोखरेलले भने– “सरकारले कृषिलाई आधुनिकीकरण र व्यावसायीकरण गराउन गोरुको विकल्पमा अनुदानमा ट्रयाक्टर वितरण गर्दै आएकाले गोरु पाल्ने किसानमा आएको नैराश्यता पनि हटाउन सक्नुपर्छ ।”

बझाङ्गी राजा विक्रमबहादुर सिंहका छोरा जयपृथ्वीबहादुर तारुकास्थित मामाघरमा आउँदा वि.सं. १८८७ मा गोरु जुधाएर मनोरञ्जन दिइएकाले यसलाई निरन्तरता दिन राज्यले बजेट र कार्यक्रम तय गर्नुपर्ने प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित तारुकावासी नारायणप्रसाद खतिवडाले बताए ।

मकर संक्रान्तिका अवसरमा नुवाकोट र रसुवाको संगमस्थल वेत्रावती र पञ्चकन्यास्थित घलेभञ्ज्याङमा पनि १०–१० हल गोरु जुधाइएको छ । नेपाल र भोटबीच भएको युद्धअन्तर्गत वि.सं. १८४९ मा वेत्रगंगाको नदी किनारमा भएको वेत्रावती सन्धिपछि नेपाली पक्षको जितको उत्सवमा तत्कालीन समयमा गोरु जुधाइएको स्मरणमा सामरिक महत्त्व कायम राख्न स्थानीयवासीको पहलमा जोरु जुधाइलाई निरन्तरता दिइएको क्लबका अध्यक्ष सुरज लबटले बताए । वेत्रावतीमा २०६७ देखि गोसाइँकुण्ड युवा क्लबको पहलमा व्यवस्थित रुपमा गोरु जुधाउन थालिएको हो ।

पञ्चकन्यामा जुधाइने गोरु बाइसे–चौबीसे राज्य सञ्चालनका समयमा घले राजाहरुले मनोरञ्जन लिन गोरुलगायत पशु–चौपाया जुधाउने गरेको इतिहासलाई निरन्तरता दिँदै यस वर्ष पनि दस हल गोरु जुधाइएको प्रचार समितिका संयोजक प्रदीप दाहालले बताए ।

‘वान भर्सेज वान’ को आधारमा नछुट्टिएसम्म जुधाइने गोरुको बीमा समेत गरिएको थियो । अघिल्ला वर्षको तुलनामा गोरु पाल्ने किसानको संख्या घट्दै गए पनि प्रतियोगितामा भने गोरुको संख्या बढ्दै गएको छ । वर्षभरि खेती गर्न समेत गोरु पाल्न छाडेका किसानले मकर संक्रान्तिमा प्रतिस्पर्धा गराएर उत्कृष्ट गोरुधनी बन्न पौष्टिकयुक्त दाना, कुखुराको अण्डा, चना खुवाएर गोरु जुधाइमा सहभागी हुँदै आएका छन् ।

तारुकामा आयोजित गोरु जुधाइ अवलोकन गर्न आएका वरिष्ठ पर्यटन व्यवसायी सुमन पाण्डेले गोरु जुधाइबाट पछिल्लो समय खेल पर्यटनको प्रवर्द्धनमा टेवा पुग्दै आएको बताए । मकर संक्रान्ति पर्वको अवसरमा नुवाकोटका विभिन्न स्थान, धादिङको खाल्टेलगायतमा समेत गोरु जुधाइलाई निरन्तरता दिइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर