मंगलबार बिहान इनरुवा– ६, मधेशास्थित आफ्नै निवासमा सुनसरीका अग्रज पत्रकार डम्बरबहादुर थापाको दम रोगका कारण निधन भएको छ ।
एकहत्तर वर्षीय थापाले केही साता यता नियमित औषधि सेवन गरिरहेका थिए । निडर पत्रकार थापा पञ्चायतकालमा निष्पक्ष र स्वतन्त्र पत्रकारितालाई अघि बढाउन सफल बनेकै कारण योद्धा पत्रकारका रुपमा कहलिएका थिए ।
उनले २०४७ फागुन २४ मा योद्धा पत्रकारको उपनामसहित ‘सिर्जनशील पत्रकारिता पुरस्कार’ समेत प्राप्त गरेका थिए । विराटनगरमा स्थापित प्रेस क्लबका संस्थापक सदस्य थापाले ‘मातृभूमि’ साप्ताहिकबाट पत्रकारिता थालनी गरेका थिए । उनले ‘प्रगति’, ‘करेन्ट’ लगायत विभिन्न छापा माध्यममा काम गरे ।
पत्रकारिता यात्राकै सिलसिलामा थापाले विभिन्न समयमा ६ पटक गरी ३ वर्ष ९ महिना १७ दिन कारागार जीवन बिताए । उनको निधनप्रति नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियन सुनसरी शाखाले दुःख व्यक्त गरेका छन् ।