प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी केन्द्र तोक्नका लागि बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले दिउँसो ३ बजे पुनः बैठक बसी थप छलफल गरेर टुंग्याउने भएको छ ।
बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी केन्द्र तोक्ने बारेमा छलफल गरे पनि अन्तिम निर्णय गर्न सकेन ।
थप परामर्श गर्नुपर्ने सुझाव बैठकमा आएपछि बुधबारै दिउँसो ३ बजे पुनः बैठक बस्ने सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी केन्द्र तोक्नेबारे नेपाली कांग्रेसका नेताहरु र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग पनि बुधबार बिहानै छलफल गरेका थिए ।