newskoseli.Com

आयोगले घोषणा गर्‍यो प्रदेश समानुपातिकका विजयीहरु, शुक्रबार प्रमाणपत्र दिने

सरकारले बुधबार प्रदेश प्रमुखहरु नियुक्त गरेलगत्तै निर्वाचन आयोगले प्रदेशसभामा समानुपातिकतर्फबाट विजयीहरु घोषणा गरेको छ । प्रदेशसभाका सबै सांसदलाई शुक्रबार आयोगमै प्रमाणपत्र प्रदान गरिने समेत आयोगले जनाएको छ ।

मंसिर १० र २१ गरी दुई चरणमा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित भएका उम्मेदवारको नाम निर्वाचन आयोगले घोषणा गरेको हाे । निर्वाचनको मतपरिणाम अनुसार राजनीतिक दलले बन्दसूचीमा पेस गरी समावेशी सिद्धान्त अनुसार निर्वाचित भएको घोषणा गर्न सिफारिस गरेका उम्मेदवारमध्येबाटै नाम घोषणा गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिएका छन् ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बुधबार बसेको आयोगको बैठकले सात वटै प्रदेशबाट समानुपातिक निर्वाचन प्रणालीतर्फबाट निर्वाचित हुने उम्मेदवारको नामावलीलाई टुंगो लगाएको हो । प्रदेशसभा सदस्य निर्वाचनमा सात वटा प्रदेशबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत जम्मा २ सय २० जना उम्मेदवार निर्वाचित हुने व्यवस्था छ ।

दलहरुले प्राप्त गरेको मतलाई ‘सेन्ट लग’ विधिबाट सिटमा रुपान्तरण गरी सिट यकिन गरेपछि राजनीतिक दलले छनोट गरी आयोगसमक्ष पठाएका उम्मेदवारलाई प्रदेशसभा सदस्यमा चयन गरिएको प्रवक्ता ढकालले जानकारी दिए । निर्वाचित उम्मेदवारको नामावली सम्बन्धित प्रदेश प्रमुखसमक्ष पठाउन, निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र प्रदान गर्न, सम्बन्धित राजनीतिक दललाई जानकारी गराउन तथा निर्वाचित उम्मेदवारको नामावली अतिरिक्ताङ्क निकाली नेपाल राजपत्रमा प्रकाशन गर्न निर्णय भएको उनले बताए ।

आ–आफ्नो राजनीतिक दलसँग समन्वय गरी माघ ५ गते शुक्रबार दिनको १ः०० बजे आयोगमै प्रमाणपत्र बुझ्न प्रदेशसभामा समानुपातिकतर्फ निर्वाचित उम्मेदवारलाई आयोगले सूचित गरेको छ । निर्वाचित सदस्यहरूलाई नागरिकता वा परिचय खुल्ने प्रमाणपत्र लिएर आउन आयोगले भनेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर