newskoseli.Com

विश्वबैंकले दियो ४५ अर्ब सहुलियतपूर्ण ऋण

नेपालको सामाजिक–आर्थिक विकासका क्षेत्रमा दूरगामी प्रभाव पार्ने ३ वटा परियोजना कार्यान्वयन गर्न विश्वबैंकले ४४ अर्ब ८२ करोड रूपैयाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।

बैंकले व्यावसायिक शिक्षा तथा तालिम परियोजना (दोस्रो चरण), पशुपालन नवप्रवर्तन परियोजना र भूकम्पेत्तर आवासीय भवन पुनर्निर्माण परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई ऋणस्वरूप उक्त रकम उपलब्ध गराउन लागेको हो ।

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र दक्षिण एसियाका लागि विश्वबैंकका उपाध्यक्ष एन्नेट डिक्सनको उपस्थितिमा आइतबार अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्रालयका सचिव शंकरप्रसाद अधिकारी र यहाँस्थित विश्व बैंकका देशीय निर्देशक चिम्याओ फ्यानले उक्त ऋणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

शिक्षा मन्त्रालयले कार्यान्वयन गर्ने व्यावसायिक शिक्षा तथा तालिम परियोजनाबाट १६ देखि ४० वर्ष उमेर समूहका युवा, प्राविधिक शिक्षालय तथा तिनका शिक्षक, प्रशिक्षक, विद्यार्थी, रोजगारदातृ निकाय लाभान्वित हुने अर्थ मन्त्रालयले जनाएको छ । पशुपंक्षी विकास मन्त्रालयले लागू गर्ने पशुपालन नवप्रवर्तन परियोजना देशका २५ जिल्लामा सञ्चालन हुने र त्यसबाट पशुजन्य उत्पादकत्व वृद्धि, गरिबी न्यूनीकरण, आधुनिक बजारीकरणमा सघाउ पुग्नेछ ।

त्यसैगरी, भुइँचालोबाट प्रभावित ९६ हजार निजी घर पुनर्निर्माणलाई भूकम्पेत्तर आवासीय भवन पुनर्निर्माण परियोजनाले समेटेको छ । उक्त परियोजना राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कार्यान्वयन गर्नेछ ।

कार्यक्रममा बोल्दै देशीय निर्देशक चिम्याओले नेपालको विकास प्रयासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे भने सचिव अधिकारीले प्राप्त सहायताप्रति आभार प्रकट गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर