newskoseli.Com

रानीपोखरी पुनर्निर्माणबारे विज्ञसमूहले दियो कस्तो प्रतिवेदन ?

रानीपोखरीको पुनर्निर्माणका लागि गठित विज्ञ समूहले आइतबार काठमाडौं महानगरपालिका प्रमुखलाई प्रतिवेदन बुझाएको छ ।

पुरातत्त्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीले कामपा प्रमुख विद्यासुन्दर शाक्यलाई बुझाएको प्रतिवेदनमा यसअघि रानीपोखरी मल्लकालीन शैलीमा निर्माण गरिएकाले सोही अनुरुप नै निर्माण गर्न सुझाव दिइएको छ ।

यसअघि पुनर्निर्माणका सम्बन्धमा प्रयोग गरिएको कङ्क्रिट नष्ट गरी पुरानै शैलीमा निर्माण गर्नुपर्ने बताउँदै कार्कीले रानीपोखरी, वरपर रहेका पर्खाल र बालगोपालेश्वर मन्दिर पनि पुरानै शैलीमा निर्माण गर्न सकिने बताएका छन् ।

महानगर प्रमुख शाक्यले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्त्व विभाग र महानगरका प्रतिनिधि बसेर प्रतिवेदनको अध्ययनपछि मात्र कसरी र कहिलेदेखि निर्माणको काम हुन्छ, थाहा हुने बताए । पाटन दरबार क्षेत्र, हनुमानढोकालगायतका केही ऐतिहासिक स्थानमा प्रवेश शुल्कमार्फत केही रकम लिने गरिएको बताउँदै शाक्यले भने– “रानीपोखरी प्रवेशका लागि केही रकम लिनु कुनै नौलो विषय होइन, यसलाई नै व्यावसायिक भन्नु गलत हो ।”

पटक–पटक निर्माणको काम थाल्ने र भत्काउने गर्दा जनताकै पैसा सकिएकाले गलत निर्णय गर्नेहरूमाथि सहभागीले कारबाहीको माग गरे । रानीपोखरी निर्माणका क्रममा विवाद उत्पन्न भएपछि समाधान गर्न पुस १३ मा कार्कीको संयोजकत्वमा ११ सदस्यीय विज्ञसमूह गठन गरिएको थियो । पहिलेको निर्णय अनुसार पुस २७ मै प्रतिवेदन बुझाउनुपर्ने भए पनि १० दिन थप समय माग गरी समूहले आइतबार प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदन अध्ययनपछि पोखरीको उत्खनन पनि गरिने बताइएको छ । २०७२ को भूकम्पले १७२७ मा बनेको न्हु पुखु भनिएको रानीपोखरी र बालगोपालेश्वर मन्दिर क्षतिग्रस्त भएको थियो । देश–विदेशका धेरै पवित्र नदीका जल प्रयोग गरिएको ‘विष्णुतीर्थ’ को नामले परिचित सो पोखरीको मन्दिर पुनर्निर्माणका क्रममा कङ्क्रिट प्रयोग भएपछि विवाद उत्पन्न भएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर