नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच गठित पार्टी एकता संयोजन समितिको आइतबारको बैठकले समृद्धि र सुशासनका क्षेत्रमा नयाँ सरकारले लागू गर्ने योजनाबारे गृहकार्य गर्न सात सदस्यीय कार्यदल गठन गरेको छ ।
एमाले अध्यक्ष ओलीको निवासमा बसेको बैठकले वाम गठबन्धनको साझा घोषणापत्रमा उल्लेख भएबमोजिमको सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न कार्यदल गठन गरेको हो । एमाले उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा गठित कार्यदलमा एमालेबाट भीम रावल, डा. युवराज खतिवडा र डा. विजय पौड्याल तथा माओवादी केन्द्रबाट वर्षमान पुन, गिरिराजमणि पोखरेल र डा. मीनबहादुर श्रेष्ठ सदस्य रहेका छन् ।
बैठकले प्रदेश सरकारको गठन र राष्ट्रियसभाको निर्वाचनबारे गृहकार्य गर्न बनेको संयुक्त कार्यदलको रिपोर्टलाई अनुमोदन गरेको छ । जसअनुसार राष्ट्रियसभा सदस्यमा एमालेका तर्फबाट २९ जना र माओवादी केन्द्रका तर्फबाट १४ जना उम्मेदवार रहनेछन् ।
संयोजन समितिको बैठकले प्रदेश सरकार, मुख्यमन्त्री, सभामुखलगायतका विषयमा रिपोर्ट पेस गर्न कार्यदललाई थप समय प्रदान गरेको छ । राष्ट्रियसभा निर्वाचनको मिति नजिकिएका कारण उक्त विषयलाई प्राथमिकतामा राखेर प्रदेश सरकारका बारेमा छलफल गर्दै जान नेताहरु सहमत भएका हुन् । शीर्ष नेताहरुले छिटो र व्यवस्थित रिपोर्ट पेस गरेकामा कार्यदललाई धन्यवाद समेत दिएका छन् ।
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकताका बारेमा भएको प्रगतिबारे बिफ्रिङ गरे । पार्टी एकताबारे आफूहरुबीच असाध्यै सकारात्मक वातावरणमा छलफल चलिरहेको र वैचारिक एवं संगठनात्मक विषयमा एक–दुई दिन थप छलफल गरेर वैचारिक र संगठनात्मक कार्यदल गठन गर्न अध्यक्षद्वयले बैठकमा प्रस्ताव गरे ।
एक–दुई दिन थप छलफल गरेर वैचारिक एवं संगठनात्मक विषयमा गृहकार्य गर्न कार्यदल गठन गर्ने निर्णय बैठकले गरेको छ । बैठकमा पार्टी एकता संयोजन समितिका सदस्य र संयुक्त कार्यदलका सदस्यहरु सहभागी थिए ।