newskoseli.Com

सरस्वतीपूजा गरेर श्रीपञ्चमी मनाइँदै, राष्ट्रपतिद्वारा वसन्तश्रवण

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी साेमबार सरस्वतीको पूजा–आराधना गरी देशभर मनाइँदैछ ।

वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । देशभरका सरस्वती मन्दिरमा पूजा–आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई यसै दिनदेखि अक्षरारम्भ गराउने समेत चलन छ । यस दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ ।

चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, बागीश्वरी, कौमारी, बरदायिनी, बुद्धिधात्री, ब्रह्मचारिणी, चन्द्रघन्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या र सिर्जनाकी देवी मानिँदै अाएकाले साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् भने तान्त्रिक तन्त्रसिद्धिका लागि तारादेवीका रूपमा समेत आराधना गर्दछन् ।

सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्तऋतु प्रारम्भ हुने विश्वासका साथ यस दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा–उपासनाले सबै प्रकारका ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने जनविश्वास रहेकाले सरस्वती पूजाको ठूलो महत्त्व मानिँदै अाएकाे छ । गान्धर्व पुराणमा यस दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुने उल्लेख छ ।

यसै दिन विवाह, ब्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु पर्दैन भन्ने विश्वास छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गर्नुका साथै नाक, कान छेडिदिने समेत प्रचलन छ । उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेले तथा अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा साेमबार बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ ।

सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोर्इ निलेमा विद्या र बुद्धि स्फूरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।

राष्ट्रपति भण्डारीले वसन्तश्रवण गर्ने

यस अवसरमा हनुमानढोका दरबारको नासल चोकमा राष्ट्राध्यक्षले वसन्तश्रवण गर्ने चलन छ । सोमबार बिहान ११ बजेर १७ मिनेटको साइतमा राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तश्रवण गर्ने कार्यक्रम रहेको हनुमानढोका दरबार हेरचाह अड्डाका मीठाराम पुडासैनीले जानकारी दिए ।

वसन्तश्रवणको साइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले उपलब्ध गराएको उनले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर