newskoseli.Com

सांसदको घोषणा : पारिश्रमिक घर लान्नँ, वडा–वडामै खर्च गर्छु

गोरखाको निर्वाचन क्षेत्र नं. २ अन्तर्गत प्रदेशसभा (ख) बाट विजयी भएका सांसद तथा नेपाली कांग्रेसका नेता प्रकाशचन्द्र दवाडीले प्रदेशले उपलब्ध गराउने पारिश्रमिक निर्वाचन क्षेत्रभित्रै सामाजिक कार्यमा खर्च गर्ने घोषणा गरेका छन् ।

साेमबार गोरखामा पत्रकार सम्मेलन गर्दै सांसद दवाडीले भने– “सांसदलाई राज्यले उपलब्ध गराउने सेवा तथा सुविधा व्यक्तिगत रुपमा प्रयोग गर्दिनँ, मलाई जिताएर पठाउनुभएका मतदाता र निर्वाचन क्षेत्रमा हुने सामाजिक कार्यमा खर्च गर्ने घोषणा गर्छु ।”

दवाडी गोरखाको सिरानचोक, अजिरकोट र सुलिकोट गाउँपालिकाबाट निर्वाचित भएका हुन् । सिरानचोकमा आठ वटा, अजिरकोटमा पाँच वटा र सुलिकोटमा आठ वटा वडा छन् । प्रत्येक महिनाको पारिश्रमिक फरक–फरक वडाका सामाजिक कार्यमा खर्च गर्न सहयोग गर्ने जानकारी दवाडीले दिए ।

प्रदेश सांसदको सेवा–सुविधा के–कस्तो हुने भन्ने यकिन भइसकेको छैन । “जनताको जीवनस्तर उकास्न सहयोग गर्छु, सामाजिक सेवामा तल्लीन रहन्छु र सधैं जनताकै सेवामा रहन्छु भन्ने अठोट गर्दै जनतासँग भोट मागेर विजयी भएँ” दवाडीले भने– “आफूले पाउने सेवा–सुविधा जनताकै लागि समर्पित गर्ने इच्छा हो ।”

दवाडी गोरखाभर राजनीतिक नेताका रुपमा भन्दा बढी समाजसेवीका रुपमा चिनिन्छन् । उनले लामो समयदेखि गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएर शिक्षा क्षेत्रमा योगदान पुर्‍याउँदै आएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर