newskoseli.Com

लाइसेन्स परीक्षामा उत्तीर्ण भए ७० वर्षे वृद्ध !

एक वृद्धले सवारी चालक अनुमतिपत्रको परीक्षा उत्तीर्ण गरेका छन् ।

सूर्यविनायक नगरपालिकाका– ७, गुण्डुका पूर्णबहादुर बस्नेतले मंगलबार ७० वर्षका उमेरमा स्कुटरको परीक्षा उत्तीर्ण गरेका हुन् । आइतबार लिखित परीक्षा उत्तीर्ण गरेका बस्नेतले मंगलबार प्रयोगात्मक परीक्षा पनि उत्तीर्ण गरे ।

प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य महेश बस्नेतका पिता पूर्णबहादुरले ३९ वर्षदेखि साइकल चलाउँदै आएका थिए । दुई वर्षअघि नातिनीको स्कुटर चलाउन थालेका पूर्णबहादुरले अब श्रीमतीलाई स्कुटरमा राखेर धार्मिक मठमन्दिरमा जान सजिलो भएको बताए ।

उनले भने– “धेरै पटक स्कुटरमा पशुपति, डोलेश्वर, आशापुरीलगायत मन्दिर पुगेको छु, कहिलेकाहीं गाउँमा स्कुटर चलाउँदा छोरा महेशले लाइसेन्स नभई स्कुटी चलाउँदा समस्या पर्छ भनेकाले लाइसेन्सको ट्रायल दिएको हुँ, पास भएँ ।”

कुनै घटना भइहालेमा पूर्वमन्त्री एवं सांसदका बाबुले लाइसेन्सविनै स्कुटी चलाए भनेर खबर जाला भनी छोराले सुझाएपछि लाइसेन्स परीक्षामा सहभागी भएको उनको भनाइ थियो । राधेराधेस्थित एक ट्रायल सेन्टरमा एक साता परीक्षासम्बन्धी ज्ञान लिएपछि बस्नेतले पहिलो पटकमै लिखित र प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेको निर्भयबाबु प्रसार्इंले जानकारी दिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर