सूर्यविनायक नगरपालिका– ७, सिपाडोल, भक्तपुरमा मंगलबार राति हतियारधारी समूहले एक परिवारलाई कब्जामा लिएर लुटपाट गरेका छन् ।
ज्याम्दी गाउँपालिका– ९, काभ्रे घर भई सिपाडोल बस्दै आएका कुखुरा व्यवसायी रामबहादुर तामाङको परिवारलाई पेस्तोल देखाएर लुटपाट गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले घटनापछि बिहान ४ः३० बजे खबर आएलगत्तै प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको जानकारी दिए ।
दस जनाको नकाबधारीले समूहले राति करिव २ः३० बजे लामा बस्दै आएको घरको पर्खाल नाघेर कम्पाउन्डमा प्रवेश गरी मुख्य ढोकाको भेन्टिलेटरको सिसा फुटाएर हात छिरार्इ ढोकाको चुकुल खोलेर भित्र पसेको प्रारिम्भक अनुसन्धानमा खुलेको उनले जानकारी दिए । प्रहरीका अनुसार नकाबधारी समूहले भित्र पसेर रिभल्बर देखाउँदै घरका परिवार १० जनाको मोबाइल खोसेर सबैलाई डोरीले बाँधी लुटपाट गरेका हुन् ।
लुटेराले १० वटा मोबाइल, एक मोटरसाइकल, करिव १८ तोला सुन, नगद १ लाख ६२ हजार रूपैयाँलगायत १४ लाखभन्दा बढीको धनमाल लुटपाट गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । पीडित लामाका अनुसार नकाबधारी समूहमा आएकामध्ये एक जनाले पेस्तोल देखाएको, एक जनाले पेस्तोल बोकेको र अन्यले खुकुरी, रडलगायतका घरेलु हतियार लिएका थिए ।
हतियार देखाएर परिवारका सबैलाई कब्जामा लिई शुरुमै सबैको मोबाइल लिई हातखुट्टा बाँधेर आतंकित बनाएर लुटपाट गरेको उहाँको भनाइ छ । लामाले भन्नुभयो–“आमासहित सबै परिवारलाई नियन्त्रणमा लिए, मलाई आमालाई केही गर्लान भन्ने डर लाग्यो, मेरो आमालाई केही नगर, के चाहिन्छ लैजाऊ भनेपछि नगद, गहना, मोबाइल सबै लगे, मेरो होस् नै उड्यो ।”
लुटेरा समूह मध्येका एकले जाने बेलामा लामाको छोराको गालामा म्वाइ खाएर सुमसुम्याएर गएको बताउँदै प्रहरीले लुटेरा समूहमा लामासँग चिनजान भएका, घरमा आउने जाने गर्ने, ढोकाको चुकुल कहाँ छ भन्ने जानकारी पाएकै व्यक्ति भएको हुनसक्ने अनुमान गरेको छ ।
प्रहरीले चौतर्फी लुटेरा समूहको खोजी गर्दै अनुसन्धान शुरु गरेको प्रहरी नायब उपरीक्षक प्रसाईंले जानकारी दिनुभयो ।