खाद्य पदार्थमा मिसावट र कालोबजारी रोक्न सरकारले कडा कानुन ल्याउन लागेको आपूर्ति मन्त्री जयन्त चन्दले बताएका छन् ।
सञ्चार केन्द्र नेपालले अाइतबार राजधानीमा आयोजना गरेको ‘मूल्यवृद्धि र बजार अनुगमनको अवस्था’ विषयको अन्तर्क्रियामा बाेल्दै कडा कानुनको अभावमा खाद्यान्नमा मिसावट र कालोबजारी मौलाउँदै गएकाले त्यसलाई नियन्त्रण गर्न मन्त्रालयले कडा कानुनको मस्यौदा तयार गरिरहेको उनले बताए ।
मुलुकमा लामो समयदेखि कानुनी राज्यको अवधारणा स्थापित हुन नसकेको भन्दै उपभोक्ताका अधिकार स्थापित गराउन सातै प्रदेशमा उपभोक्ता अदालत स्थापना गर्न लागिएको जानकारी उनले दिए ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले घटनास्थलमै दोषीमाथि कारबाही गर्ने कानुन नहुँदा कालोबजारी र मूल्यवृद्धि नियन्त्रणमा कठिनाई भएको बताए । मूल्यवृद्धि सन्तुलन मिलाउन र उपभोक्ताका हक–अधिकार स्थापित गराउन सम्पूर्ण सरोकारवाला पक्षको सहयोग आवश्यक रहेको धारणा उनले राखे ।
बजारमा देखिएका बेथितिलाई सरकारले कारबाही गर्न नसक्दा मूल्यवृद्धि र कालोबजारी नियन्त्रण हुन नसकेको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए । खाद्य पदार्थमा नियन्त्रण गर्न नसक्दा उपभोक्ताले गुणस्तरहीन खाद्य पदार्थ उपभोग गरिरहेको उनले बताए ।
कार्यक्रममा प्रहरी नायब उपरीक्षक रवि पौडेल, साल्ट ट्रेडिङ कर्पोरेसन नेपालका ब्रजेशकुमार झा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोविन्दप्रसाद चौलागाईंलगायतले उपभोग्य वस्तुमा देखिएको मिसावट नियन्त्रण गर्नुपर्ने बताए ।