नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छिमेकी मुलुकसँग विगतको अभ्यास र मान्यतामा नभई आजको आवश्यकता र नयाँ मान्यताका साथ सुमधुर सम्बन्ध राखिने बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्सको ६७औं साधारणसभाबाट निर्वाचित कार्यसमितिलाई बधाई दिन साेमबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले कुनै समय विश्वमा उपनिवेशको रहेको तर आजको विश्व सार्वभौम मुलुकको स्वाधिनताका आधारमा अघि बढिरहेकाले नेपालीले राष्ट्रको स्वाभिमानप्रति गौरव गर्नुपर्ने उल्लेख गरे ।
“अब नेपाल तीव्र आर्थिक विकासमा अघि बढ्नुपर्छ, अहिलेको समय ठूला मुलुकले सानालाई अन्याय गर्ने समय होइन, संयुक्त राष्ट्रसंघको वडापत्रअनुसार सहअस्तित्वको मान्यताका साथ जानुपर्छ र नेपालमा विकास नुहुनपर्ने कारण छैन, हाम्रा असाधारण स्रोत–साधनको भरपूर प्रयोग गर्नुपर्छ”, अध्यक्ष ओलीले भने– “सार्वजनिक स्वामित्वका उद्योगलाई कमिसनका नाममा बेच्दै सखाप पारेर होइन, निजी क्षेत्रसँग सहकार्य गरी नयाँ–नयाँ उद्योग खोलेर, बेरोजगारी र कुशासनको अन्त्य गरेर जनतालाई सेवा दिने गरी आगामी सरकारले काम गर्नेछ ।”
कामचलाउ सरकारले संविधानविपरीत र बजेटमा नभएका कार्यक्रमबारे गरेका कामकारबाही सच्याउने उहाँले दोहोर्याए । वाम गठबन्धनले बहुमतसहित निर्वाचन जितेर स्थायी सरकार बन्न लागेकामा उद्योगी व्यवसायीले सकारात्मक रुपमा लिएको चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए ।