newskoseli.Com

राजधानीमा बलात्कार र लुटपाटका घटना : प्रहरी नै अनुसन्धानको घेरामा !

राजधानीमा हालै घटेका बलात्कार र लुटपाटका दुई छुट्टाछुट्टै घटनामा प्रहरीको समेत बदमासी देखिएपछि प्रहरी नै अनुसन्धानको घेरामा तानिएका छन् ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले ती घटनाका सम्बन्धमा ५ प्रहरीमाथि अनुसन्धान थालेको छ । बिहीबार दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा एक युवतीमाथि भएको सामूहिक बलात्कारको घटनालाई गुपचुप राख्ने प्रयास गरेको आरोपमा महानगरीय प्रहरी वृत्त दरबारमार्गका नायब प्रहरी उपरीक्षक तिलक भारती, प्रहरी निरीक्षक लक्ष्मण ठकुरी, प्रहरी नायब निरीक्षक चन्द्र भण्डारीमाथि अनुसन्धान सुरु गरिएको छ ।

आरोपित प्रहरीलाई वृत्तबाट सरुवा गरी अनुसन्धान अघि बढाइएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रामदत्त जोशीले जानकारी दिए । शैलेश कार्की नामका एक युवकमाथि ती युवतीलाई होटलमा बोलाएर आफ्ना तीन साथीसहित बलात्कार गरेको आरोप लागेको छ ।

सामूहिक बलात्कारजस्तो घटनामा आरोपितहरुले पीडित युवतीलाई रकम दिएर मिलापत्र गरेको घटनामा सहयोग गरेको आरोप वृत्तका प्रहरी अधिकृतहरुलाई लागेको छ । पीडित युवतीलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको जानकारी प्रवक्ता जोशीले दिए । “पीडितले प्रहरीमा लिखित रुपमा जाहेरी नै नदिएको देखिन्छ”, उहाँले भने– “पीडित भनिएकी युवतीसँग बयान लिएपछि मात्रै के भएको हो भन्ने थाहा हुन्छ ।”

सो घटनाबारे परिसरले गठन गरेको छानविन समितिका संयोजक समेत रहेका जोशीले घटनामा प्रहरीको कमजोरी भए–नभएको बारेमा समेत अनुसन्धान भइरहेको जानकारी दिए ।

यसैगरी, कलंकीस्थित एक होटलमा गत सोमबार छापा हानी जुवा खेल्ने समूहलाई भाग्न लगाई उनीहरुको साथमा रहेको ४ लाख रूपैयाँ र मोबाइल लुटेर भागेको आरोपमा पनि प्रहरीमाथि नै छानबिन थालिएको छ ।

प्रहरी नायब निरीक्षक मोहनबहादुर मल्ल र प्रहरी जवान मनोहर बुढा जुवाखालमा छापी हानी रकम लिएर भागेको आरोपमा अनुसन्धानमा तानिएका हुन् । सो रकम र मोबाइलबारे उनीहरुले आफ्नो माथिल्लो निकाय महानगरीय प्रहरी वृत्त कालिमाटीमा जानकारी नै गराएका थिएनन् ।

जुवा खेल्ने समूहका केही व्यक्ति आफ्नो मोबाइल लिन वृत्तमा आएपछि मात्रै घटनाबारे वृत्तले जानकारी पाएको थियो । परिसरका प्रवक्ता जोशीले जुवा खेल्नेलाई भगाई उनीहरुको साथमा रहेका रकम लुटेको देखिएको भन्दै दोषीमाथि कारबाही अगाडि बढाइएको जानकारी दिए ।

“लुटिएको भनिएको १ लाख ४० हजार रूपैयाँ मात्रै हामीले प्रहरीको साथबाट बरामद गरेका छौं”, उनले भने– “तर जुवाखालमा रहेकाहरुले ४ लाख रूपैयाँ लुटेको आरोप लगाइरहेका छन् ।”

प्रहरी जवान बुढालाई निलम्बन गरिएको र नायब निरीक्षक मल्ललाई कारबाहीका लागि माथिल्लो निकायमा सिफारिस गरिएको जानकारी उनले दिए । –रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर