newskoseli.Com

हेटौंडामै राजधानी राख्न सांसदलाई खाना र आवासमा छुट !

हेटौंडाका होटल व्यवसायीले प्रदेश नं. ३ का प्रदेश सांसदलाई खाना र आवासमा छुटको व्यवस्था गरेका छन् ।

हेटौंडालाई स्थायी रुपमा नै प्रदेशको स्थायी राजधानी बनाउने कार्यमा सहयोग गर्न भन्दै हेटौंडाका होटल व्यवसायीले सांसदलाई विशेष छुटको व्यवस्था गरेका हुन् ।

सांसदका लागि शपथग्रहण गर्न आएको समयदेखि नै आवासमा ४० प्रतिशत र खानामा १५ प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी होटल व्यवसायी संघ मकवानपुरका अध्यक्ष भागिरथ शर्माले दिए । “प्रदेशको राजधानी हेटौंंडा बनाउनका लागि यति सहयोग गर्न होटल व्यवसायी तयार छन्”, उनले भने– “सांसदलाई सेवा दिन पाउँदा होटल व्यवसायी खुशी पनि छन् ।”

हेटौंडामा पर्याप्त होटल रहेको भन्दै प्रदेशको राजधानी बनाउन संघले पूरा गर्नुपर्ने भूमिका निर्वाह गरिने उनले बताए । अस्थायी मुकाम हेटौंडा तोकिएपछि संघले बैठक नै बोलाएर प्रदेश सांसदहरूलाई खाना र बसाइमा छुट दिने निर्णय गरेको अध्यक्ष शर्माले बताए ।

प्रदेशसभाको पहिलो बैठकमा सहभागी हुन हेटौंडा आइपुगेका सांसदलाई आवास तथा खानाको व्यवस्था मिलाउन पाउँदा खुशी लागेको मानस गेस्टहाउसका सञ्चालक मानबहादुर लामाले बताए । त्यसैगरी, छुट पाउँदा सांसदहरु खुशी भएको बताउँदै स्थायी राजधानी हेटौंडा भएको खण्डमा सधैं छुट दिन सकिने थकाली भान्छाघरका सञ्चालक शम्भु अधिकारीले बताए ।

हेटौंडाका होटल व्यवसायीले गरेको छुट हेटौंडावासीको माया भएको सांसद रीता माझीले बताइन् । होटल व्यवसायीको यस कार्यले सांसदहरु खुशी नै भएको उनको भनाइ छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर