newskoseli.Com

७ नं. प्रदेशमा सभामुखको निर्वाचनको यस्तो छ कार्यतालिका

प्रदेश नं. ७ प्रदेशसभा सचिवालयले साेमबार प्रदेश सभामुखको निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ ।

आइतबार भएको प्रदेशसभाको पहिलो बैठकले गरेको निर्णयअनुसार माघ २९ गते दिउँसो १ बजे प्रदेशसभा सभामुखको निर्वाचन हुन लागेको छ । प्रकाशित कार्यतालिका अनुसार प्रदेशसभाको निर्वाचनका लागि माघ २७ गते दिनको २ देखि ५ बजेसम्म उम्मेदवारी दर्ता, सोही दिन ५ः३० बजे उम्मेदवारको नामावली प्रकाशन, माघ २८ गते दिनको १० देखि १२ बजेसम्म उम्मेदवारमाथि दाबी–विरोध र सोही दिन १२ देखि २ बजेसम्म उम्मेदवारमाथि परेको दाबी–विरोधमाथि छानबिन गरिनेछ ।

माघ २८ गते २ बजेसम्म दाबी–विरोधको छानबिनपछि उम्मेदवारको आन्तिम नामावली प्रकाशन, सोही दिन २ देखि ४ बजेसम्म उम्मेदवारी फिर्ता, ५ बजे अन्तिम नामावली प्रकाशन र माघ २९ गते दिउँसो १ बजे सभामुखको निर्वाचन गर्ने कार्यतालिका प्रकाशन गरिएको ७ नं. प्रदेश सचिवालयका सहसचिव मुरारी महतले जानकारी दिएका छन् ।

सभामुखका लागि नेकपा (एमाले) की समानुपातिक सांसद पूर्णा जोशीको नाम चर्चामा छ । वाम गठबन्धनको बहुमत रहेको ७ नं. प्रदेशको मुख्यमन्त्री नेकपा (माओवादी केन्द्र) को भागमा र सभामुख एमालेको भागमा परेको छ ।

माओवादी केन्द्रको प्रदेश समितिको बैठकले केही दिनअघि नै डोटीबाट निर्वाचित प्रदेशसभा सांसद त्रिलोचन भट्टलाई मुख्यमन्त्री बनाउने सिफारिस गरिसकेको छ । ५३ सांसद रहेको यस प्रदेशमा एमालेका २५, माओवादी केन्द्रका १४, कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका २ सांसद छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर