नेपाल पञ्चाङ्ग निर्णायक समितिले वि.सं. २०७५ का लागि १३ वटा पात्रो (पञ्चाङ्ग) लाई प्रकाशनको स्वीकृति दिएको छ ।
समितिले स्वीकृति दिएका पञ्चाङ्गमा तोयनाथ, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाशदर्शन, बंगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति र सिद्धि रहेको अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए ।
यी सबै पञ्चाङ्गले वि.सं. २०७४ मा पनि स्वीकृति पाएका थिए । स्वीकृति नलिई प्रकाशन भएका पञ्चाङ्गमा घडी, पला, बृहस्पति, शुक्र उदय र अस्तलगायतका तथ्य फरक परेको समितिले जनाएको छ । यस्ता तथ्य फरक परी चाडपर्व पनि फरक पर्दा सर्वसाधारणमा अन्योल हुने गरेको छ । यस वर्ष समितिको स्वीकृति नलिई प्रकाशन भएका मानसखण्ड र ज्वाला पञ्चाङ्गलाई कारबाहीका लागि गृह र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पत्र लेखिएको अध्यक्ष गौतमले बताए ।
पञ्चाङ्गलाई व्यवस्थित गर्न समितिले मस्यौदा गरी संस्कृति मन्त्रालयमा पेस गरेको नेपाल पञ्चाङ्ग निर्णायक समिति ऐन तीन वर्षअघिदेखि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा अड्किएको छ । मन्त्रिपरिषदको निर्णय अनुसार गठन भएको समितिलाई कानुनी आधार दिने सम्बन्धमा छलफल भइरहेको मन्त्रालयका संस्कृति महाशाखा प्रमुख भरतमणि सुवेदी बताउँछन् ।
मन्त्रिपरिषदले ज्योतिष, धर्मशास्त्र, संस्कृति, नेवारी संस्कृति, गुरुङ, तामाङ एवं शेर्पा संस्कृति विज्ञसहितको ९ सदस्यीय समिति गठन गरेको छ । समितिको निर्णय बमोजिम पात्रोले स्वीकृति पाउने गरेका छन् । तिथि, बार, योग, नक्षत्र र करण ५ अंगको समूहलाई पञ्चाङ्ग भनिन्छ । पात्रोमा यी ५ अङ्गसँगै विभिन्न लग्न, साइत, ग्रह उदय र अस्त एवं ग्रहणका विषय समेत समावेश गरिन्छ ।
समितिले स्वीकृति दिएसँगै पञ्चाङ्ग प्रकाशनको क्रम पनि सुरु भएको छ । फागुन पहिलो सातासम्म १३ वटै पञ्चाङ्ग निस्किसक्नेछन् । विवाह, ब्रतबन्ध, शिलान्यासलगायतका साइतका लागि पनि मानिसले पञ्चाङ्गको खोजी गरिरहेका हुन्छन् ।