केही वर्षअघि तत्कालीन राजा ज्ञानेन्द्र शाहले ‘राष्ट्रकवि’ घोषणा गरेका सुप्रशिद्ध एवं वयोवृद्ध कवि माधवप्रसाद घिमिरेलाई शेरबहादुर देउवा नेतृत्वको वर्तमान कामचलाउ सरकारले नेपाली सेनाको ‘सहायकरथी’ बनाइदिएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले कवि माधवप्रसाद घिमिरेलाई नेपाली सेनाका मानार्थ सहायकरथीको दर्जा दिने, औद्योगिक बौद्धिकसम्बन्धी कानुन संशोधन र तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने, नेपाल र कतारबीच सरकारी तथा उच्च ओहोदाका राहदानीवाहकलाई प्रवेशाज्ञा शुल्क छुट दिनेलगायतका निर्णय गरेको हो ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिद्वारा राष्ट्रियसमाभा मनोनीत हुने तीन सदस्यबारे निर्णय गर्ने जिम्मेवारी समेत मन्त्रिपरिषदको यस बैठकले प्रधानमन्त्री देउवालाई नै दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले थप परामर्श गरी सो बारेमा निर्णय गर्न प्रधानन्त्रीलाई जिम्मा दिइएको जानकारी बैठकपछि सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले दिएका हुन् ।
यसबारे शनिबारसम्म निर्णय भइसक्ने समेत मन्त्री बस्नेतले बताए । माघ २४ मा सम्पन्न राष्ट्रियसभा निर्वाचनपछि मन्त्रिपरिषदबाट सिफारिस भई राष्ट्रपतिबाट नियुक्त हुने तीन सदस्यबारे निर्णय हुन बाँकी छ ।
त्यसैगरी, बुढीगण्डकी आयोजनाको लगानीसम्बन्धी प्रतिवेदन स्वीकृत गर्नुका साथै ‘तपस्वी’ रामबहादुर बम्जनले आश्रयस्थल बनाएको बारा जिल्लाको वन क्षेत्रलाई ‘धार्मिक वन’ घोषणा गर्ने निर्णय समेत शुक्रबारको बैठकले गरेको मन्त्री बस्नेतले बताए । पत्रकारका जिज्ञासाको जवाफ दिँदै सरकारले जथाभावी रुपमा रकम वितरण नगरेको पनि मन्त्री बस्नेतले दावी गरे ।