newskoseli.Com

७ नं. को सेरोफेरोः सभामुखमा अर्जुन थापा, दल नेतामा ४ आकांक्षी

७ नम्बर प्रदेशसभाको सभामुख पदमा बझाङबाट निर्वाचित एमालेका सांसद अर्जुन थापा निर्विरोध निर्वाचित भएका छन् ।

शनिबार दिउँसो २ देखि ५ बजेसम्म सभामुख पदको प्रस्ताव दर्ता गराउनुपर्ने निर्वाचन कार्यतालिका बमोजिम सो पदका लागि सांसद थापाको मात्रै उम्मेदवारी दर्ता भएको जानकारी प्रदेश सचिवालयका सचिव मुरारी महतले दिए ।

थापाको प्रस्तावकमा एमाले सांसद दीर्घबहादुर सोडारी र समर्थकमा नेकपा (माओवादी केन्द्र) का सांसद् त्रिलोचन भट्ट रहेका थिए । थापाको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । यद्यपि औपचारिक रुपमा घोषणा भने माघ २९ मा हुने प्रदेशसभाको दोस्रो बैठकबाट गरिनेछ ।

माघ २८ गते दर्ता भएको प्रस्तावमाथि दाबी–विरोध गर्ने र दर्ता भएको उम्मेदवारी फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने र माघ २९ मा बस्ने प्रदेशसभाको बैठकमा प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने निर्वाचन कार्यतालिका छ ।

एमाले संसदीय दलको बैठकले सर्वसम्मत रुपमा प्रदेशसभा सांसद थापालाई प्रदेशसभाको सभामुखमा उठाउने निर्णय गरेको थियो । एमाले र नेकपा (माओवादी केन्द्र) बीचको सहमति अनुसार यो प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र, सभामुखमा एमाले र उपसभामुखमा माओवादी केन्द्रका सांसदले माैका पाउनेछन् ।

संसदीय दलको नेतामा ४ आकांक्षी

७ नंं. प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको नेकपा (एमाले) मा संसदीय दलको नेताका आकांक्षी ४ जना देखिएका छन् । एमाले कैलालीका अध्यक्ष एवं प्रदेशसभा सांसद दीर्घ सोडारी, बाजुराका प्रकाश शाह, डडेलधुराका पठानसिं बोहरा र कञ्चनपुरका तारा लामा तामाङ संसदीय दलको नेताका लागि दौडधुपमा छन् ।

माओवादी केन्द्रले भने मुख्य मन्त्रीमा प्रस्ताव गरिएका डोटीका सांसद त्रिलोचन भट्टलाई संसदीय दलको नेता चयन गरिसकेको छ । तेस्रो ठूलो दल नेपाली कांग्रेसमा संसदीय दलको नेताका लागि कैलालीबाट निर्वाचित डा. रणबहादुर रावल, डडेलधुराबाट निर्वाचित कर्णबहादुर मल्ल र डोटीका भरतबहादुर खड्काको नाम चर्चामा छ ।

कूल ५३ सांसद रहेको यो प्रदेशसभामा एमालेका २५, माओवादी केन्द्रका १४, कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका २ सांसद छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर