newskoseli.Com

खटाइएका १४७, उपस्थित २१ जना ! किन गएनन् २ नं. प्रदेशमा कर्मचारी ?

प्रदेश नं. २ मा प्रदेशसभाका कर्मचारीहरू कार्यालयमा नआएका कारण व्यवस्थापिका र कार्यपालिका सञ्चालनको कामकाज प्रभावित भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलगायत ७ वटा मन्त्रालयका कामकाजलाई व्यवस्थित र मर्यादित रूपमा सञ्चालनका लागि सरकारले १ सय ७४ जना कर्मचारी खटाउने निर्णय गरेको भए पनि हालसम्म २१ जना कर्मचारी मात्र उपस्थित भएका छन् ।

सरकारले १५ दिनअघि नै निर्णय गरेर प्रदेशमा जान कर्मचारीलाई निर्देशन दिए पनि अहिलेसम्म प्रमुख सचिवलगायत २१ जना कर्मचारी मात्र हाजिर भएका कारण कामकाज व्यवस्थित हुन नसकेको प्रदेश नं. २ का प्रमुख सचिव राजेश्वरमान सिंहले जानकारी दिए । सरकारले कर्मचारी खटाएको महिना दिन बित्न लागे पनि अटेरी गरेर हालसम्म कर्मचारीहरू उपस्थित नभएकाले प्रदेशसभालगायत मन्त्रालयहरुको कामकाज बाँडफाँड गरेर समयमै सक्न समस्या भएको उनले बताए ।

प्रदेश सचिवालय सञ्चालनका लागि २७ जना कर्मचारीको दरबन्दी रहे पनि कर्मचारी नआएपछि प्रदेशसभा सञ्चालनका लागि तालिम दिन खटिएका सहसचिवलगायतका ७ जना नै सचिवालयको कामकाज गर्न बाध्य छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा २१ जनाको दरबन्दी रहेकामा ८, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा २३ जनाको दरबन्दी रहेकामा ४, आर्थिक मामिला तथा योजना मन्त्रालयमा १८ जनाको दरबन्दी रहेकामा २, भौतिक पूर्वाधार तथा विकास मन्त्रालयमा २४ जनाको दरबन्दी रहेकामा २ कर्मचारी मात्र उपस्थित छन् ।

समाजिक विकास मन्त्रालयमा ३० जनाको दरबन्दी रहेकामा एक जना समेत उपस्थित छैनन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा २९ जनाको दरबन्दी रहेकामा ४ र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा २९ जनाको दरबन्दी रहेकामा १ जना कर्मचारी मात्र उपस्थित छन् ।

कर्मचारी अभावकै कारण २१ गते भएको प्रदेश नं. २ को पहिलो प्रदेशसभा बैठकमा अप्ठ्यारो भएको थियो । अब फागुन २ गते सभामुख र उपसभामुखको निर्वाचनलगत्तै प्रदेश सरकार गठन प्रक्रिया सुरु हुनेछ तर प्रदेश सचिवालय र मन्त्रालयमा कर्मचारी नभएकै कारण तयारीमा समस्या भइरहेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर