newskoseli.Com

नियम मिच्नुभएको त छैन ? ट्राफिकले घरमै चिठी पठाउला…

तपाईंले जथाभावी, ट्राफिक नियम उल्लंघन गरेर सवारी साधन चलाइरहनु भएको त छैन ? ट्राफिक प्रहरी अगाडि छैन भनेर नियम उल्लंघन गर्नुभएको छ भने अब कारबाहीमा पर्नुहुन्छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सीसी क्यामराको माध्यामबाट ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनका चालकलाई धमाधम कारबाही प्रक्रिया अगाडि बढाएको छ । महाशाखाले माघ २४ देखि उक्त प्रक्रियालाई तीव्रता दिएको हो ।

ट्राफिक व्यवस्थापनका लागि महाशाखामा राखिएको सीसी क्यामरा र महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा रहेको सीसी क्यामरामार्फत ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई निगरानीमा लिएर कारबाही गर्न सुरु गरेको हो । दुई वर्ष पहिलेदेखि महाशाखाले सीसी क्यामराको माध्यमबाट सवारी साधनलाई नियन्त्रणमा लिएर कारबाही गरे पनि अब भने ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई घरमै चिठी पठाउन लागेको छ ।

नियम मिच्ने सवारी साधनलाई सीसी क्यामराबाट नम्बर प्लेटको निगरानी गरेर नियम मिच्ने सवारी साधनको विस्तृत विवरण हेरी महाशाखाले घरमा नै पत्र काट्न थालेको हो । चालकले जथाभावी र ट्राफिक नियम उल्लंघन गर्न थालेपछि महाशाखाले चालकको घरमा नै चिठी पठाएर कारबाही प्रक्रिया अगाडि बढाएको महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनी बताउँछन् ।

“सबै ठाँउमा ट्राफिक पुग्न सक्दैन, ट्राफिक नियम उल्लंघन गरेर जथाभावी सवारी चलाउन थालेपछि दुर्घटना धेरै हुने भएकाले हामीले कारबाहीलाई तीव्रता दिएका हौं” – उनले भने । सीसी क्यामरामार्फत महाशाखाले एक हप्तामा ३१ जनालाई कारबाहीका लागि सिफारिस गरेको छ, जसमध्ये तीन जनालाई फोनमार्फत महाशाखामा बोलाएर कारबाही गरिएको छ भने बाँकीलाई चिठी काट्ने तयारी भइरहेको सहप्रवक्ता मसासिनीले बताए ।

यो आर्थिक वर्षको माघ मसान्तसम्म उपत्यकामा ५ लाख ३३ हजार १ सय ९९ सवारी साधनले सवारी नियम उल्लंघन गरेको महाशाखाले जनाएको छ । यसका अतिरिक्त ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई प्रमाणसहित जो–कोहीले महाशाखामा उजुरी दिएमा कारबाही हुने भएको छ । आफू चढेको सवारी साधनले जथाभावी हर्न बजाएमा, तीव्र गतिमा सवारी चलाएमा वा लेन अनुशासन पालना नगरेको फोटो–भिडियो महाशाखामा दिएमा महाशाखाले कारबाही गर्ने जनाएको छ ।

सवारी साधन धेरै र सडक साँघुरो भएका कारण काठमाडौं उपत्यकामा धेरै दुर्घटना हुने गरेको छ । काठमाडौं उपत्यकामा १ हजार ५ सय ९४ किलोमिटर सडक भए पनि सवारी साधन गुड्ने व्यस्त सडक ४ सय ७२ किलोमिटर मात्र छ । उपत्यकामा हाल १ हजार ८५ जनशक्तिले ३८ ट्राफिक एकाइबाट ट्राफिक व्यवस्थापन गर्दै आएका छन् ।

काठमाडौं उपत्यकामा ११ लाख र देशभर २८ लाख सवारी साधन सञ्चालनमा रहेको बताउँछन् यातायात व्यवस्था विभागका प्रवक्ता वीरेन्द्रबहादुर स्वाँर । “साँघुरा सडक छन् र धेरै सवारी साधन छन् त्यसैले उपत्यकाको सवारी व्यवस्थापनमा चुनौती थपिँदै गएको छ”– उनले भने ।

चालकले ट्राफिकको आँखा छलेर नियम उल्लंघन गरेका घटना बढेपछि महाशाखाले यो अभियान सुरु गरेको बताउँछन् महाशाखाका प्रमुख सर्वेन्द्र खनाल । “एउटा चालकको बदमासीका कारण अरु राम्रा चालकले समेत बदमासी नगरुन् भनेर हामीले उक्त कारबाही अभियान सुरु गरेका हौं” – उनले भने ।

महाशाखाले यसअघि उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारका लागि जथाभावी धुवाँ फाल्ने सवारीदेखि जथाभावी हर्न बजाएर हिँड्ने सवारी साधनलाई कारबाही गर्नुका साथै सवारी चालकलाई सडकमै ट्राफिक शिक्षा प्रदान समेत गरिसकेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर