newskoseli.Com

एमाले–माओवादीबीच तयार भैसकेको सहमतिपत्रमा किन भएन हस्ताक्षर ? (७ बुँदेको ड्राफ्टसहित)

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकता अन्तिम चरणमा पुगेको बताइँदैछ । यद्यपि सरकार गठनअघि नै एकता घोषणा गर्ने प्रयास भने असफल भइसकेको छ ।

बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनुअघि नै बुधबार राति अबेरसम्म भए पनि दुर्इ पार्टीबीच एकताको सहमतिमा हस्ताक्षर गर्ने र एउटै पार्टीको बहुमतको सरकार गठन गरिछाड्ने माओवादी पक्षको हरसम्भव प्रयत्न एमालेका केही नेताहरूको आश्चर्यजन गतिविधिका कारण सम्भव हुन नसकेको एक माओवादी नेताले न्युजकोसेलीलार्इ बताए ।

एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच विभिन्न चरणमा भएका वार्ता र छलफलबाट पार्टी एकताको मोडालिटीमा सहमति भइसकेको छ । बुधबार ओली–प्रचण्डबीच वार्ता सकिएलगत्तै दुवै पार्टीले आ–आफ्ना शीर्ष नेतृत्व तहमा छलफल गरेपछि पार्टी एकता संयोजन समितिको बैठक बसेको थियो ।

सोही बैठकमा एकताको सहमतिपत्रमा हस्ताक्षर हुने र बिहीबारैदेखि केन्द्रीय तहबाट एउटै पार्टीका हैसियतमा राजनीतिक गतिविध र निर्णय प्रक्रिया सुरू हुने सर्वत्र अपेक्षा र अनुमान थियो । संयोजन समितिको बैठकमा दुई अध्यक्षबीच भएका सहमतिका बुँदामा गहन छलफल भए पनि अन्ततः केही दिनका लागि एकता टर्‍यो ।

यस्तो थियो दुर्इ पार्टीबीच एकताका निम्ति तयार पारिएको सहमतिपत्रको मस्यौदा

१. एकीकृत पार्टीमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को समान हैसियतमा हुने । प्रचण्ड कार्यकारी अधिकारसहित अध्यक्ष हुनेछन् भने ओली प्रधानमन्त्री हुने भएकाले सेरेमोनियल अध्यक्ष रहनेछन् ।

२. अध्यक्ष र प्रधानमन्त्रीमा आलोपालो गर्ने सुरुकै सहमति अनुसार पाँचवर्षे कार्यकालमा दुवै आधा–आधा सयम ( साढे २ वर्ष ओली र साढे २ वर्ष प्रचण्ड) प्रधानमन्त्री हुनेछन् ।

३. एकतापछि पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ राख्ने ।

४. एकीकृत पार्टीका राजनीतिक दर्शन मार्क्सवाद र लेनिनवाद रहने ।

५. एकता महाधिवेशनसम्म पार्टीको कार्यदिशाका विषयमा समाजवादउन्मूख नयाँ कार्यदिशा निर्माण र संगठनात्मक संरचनाबारे गृहकार्य गर्न दुई कार्यदल बनाउने ।

६. दुई अध्यक्षबाहेक बहुपद सिर्जना नगर्ने । एक सयभन्दा कमको केन्द्रीय समिति बनाउने ।

७. राष्ट्रपति र उपसभामुख एमालेलाई, उपराष्ट्रपति र सभामुख माओवादी केन्द्रलाई ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर