newskoseli.Com

माओवादीले प्रधानमन्त्रीलाई बुझायो मन्त्रीहरुको नामावली

सोमबार बिहानै प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सरकार विस्तारका विषयमा छलफल भएको छ ।

अध्यक्ष प्रचण्डले सोही भेटका क्रममा पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम समेत प्रधानमन्त्रीलाई बुझाइदिएका छन् । अध्यक्ष प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महराका अनुसार सोमबार अपराह्न ४ बजे मन्त्रीको शपथ ग्रहण गराउने तयारी भएकाले पार्टीको तर्फबाट मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाइएको हो ।

माओवादी केन्द्रले रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेको छ । सबै प्रदेशको प्रतिनिधित्व र कार्यक्षमता प्रदर्शन गर्न सक्नेलाई मन्त्रिमण्डलमा पठाइएको माओवादी केन्द्रले जनाएको छ ।

पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाइए ती नाम सार्वजनिक गर्न पनि महराले मानेनन् । उनले भने– “सबै वर्ग, क्षेत्र तथा कार्यक्षमता हेरेर पार्टीले निर्णय गरेको छ, शपथग्रहण समारोहमा नै नाम सार्वजनिक भइहाल्छ ।”

प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन् । फागुन ३ मा ओली नेतृत्वमा वाम गठबन्धनको सरकार गठन भएको थियो । सरकार विस्तारका विषयमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच सोमबारै पनि छलफल भएको जानकारी प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले समेत दिएका छन् ।

राष्ट्रपति कार्यालयले सोमबार अपराह्न ४ बजे शपथग्रहणको तयारी गरेको छ ।

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर