newskoseli.Com

एमाले–माओवादी केन्द्र संसदीय दलको संयुक्त बैठक बस्दै…

पार्टी एकताको अन्तिम कसरतमा रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले शनिबार संसदीय दलको संयुक्त बैठक डाकेका छन् ।

पार्टी एक हुने अवस्थामा पुगिसकेको सन्दर्भमा संसदीय गतिविधिमा समेत एकरूपता दिनका लागि सांसदहरूलार्इ प्रशिक्षण दिन संयुक्त बैठक बोलाइएको हो । सोमबारदेखि संसदको बैठक सुरु हुने भएकाले त्यसअघि नै सांसदहरूलाई प्रशिक्षण दिन लागिएको जानकारी एमालेका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले दिएका छन् ।

दुवै दलका सांसदहरूलाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी ओली, माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड र पूर्वसभामुख सुवास नेम्वाङले निर्देशनसहितको प्रशिक्षण दिने जानकारी श्रेष्ठले दिए । बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बोलाइएको छ ।

दुवै दलबाट प्रतिनिधित्व गर्ने धेरै नयाँ सांसद रहेकाले संसदीय मर्यादालगायत विषयमा प्रशिक्षण दिइने श्रेष्ठले बताए । फागुन ७ मा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका प्रारम्भिक आधारसम्बन्धी ७ बुँदे सहमतिपत्रमा हस्ताक्षर भइसकेको छ ।

दुवै दलका नेता सम्मिलित कार्यदलहरूले पार्टी एकताको विस्तृत खाका, राजनीतिक प्रतिवेदन र विधानको मस्यौदा निर्माण गरिरहेका छन् । फागुनभित्र सबै काम सकेर चैतभित्रै दुई दलबीच औपचारिक रूपमा एकताको घोषणा गर्ने नेताहरूले बताउँदै आएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर