newskoseli.Com

संघीय संसदका दुवै सदनका सांसदले लिए सपथ

निर्वाचन सम्पन्न भएको तीन महिनापछि प्रतिनिधिसभाका र राष्ट्रियसभाका सांसदहरूले छुट्टाछुट्टै सपथ लिएका छन् ।

प्रतिनिधिसभाका सदस्यहरुले ज्येष्ठ सदस्य महन्थ ठाकुरबाट सपथ लिए भने राष्ट्रियसभाका सांसदहरुले तारादेवी भट्टबाट सपथ लिएका हुन् ।

प्रतिनिधिसभा सदस्यको सपथग्रहण अपराह्न चार बजेका लागि तय भए पनि केही ढिलो गरी भयो । निर्धारित समयभन्दा ३५ मिनेट ढिलो बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित संसद सभाकक्षमा प्रतिनिधिसभा सदस्यले सपथ लिए ।

राष्ट्रिय गानबाटसुरु भएको कार्यक्रममा संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले उपस्थित सांसद सदस्यलाई स्वागत गरे । भट्टराइको स्वागतपछि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य राजपाका सांसद महन्थ ठाकुरले सपथ गराए । सपथ लिएपछि सांसदहरूले सांसद लोगो समेत लगाए ।

प्रतिनिधिसभाका सदस्यहरुले सपथ लिएको केही बेरपछि राष्ट्रियसभाका सदस्यहरूलाई राष्ट्रियसभाकी ज्येष्ठ सदस्य तारादेवी भट्टले सपथग्रहण गराइन् । ठाकुर र भट्टले दुवैले आइतबारै दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका थिए ।

संघीय संसदको पहिलो बैठक सोमबार बस्ने भएकाले सांसदहरुलाई एक दिन अगाडि नै सपथग्रहण गराइएको हो । सपथग्रहणमा चार सांसद अनुपस्थित रहे । टोपबहादुर रायमाझी र धर्मशिला चापागाईं, रेशम चौधरी र महिन्द्र राय यादव सपथग्रहणमा उपस्थित भएनन् ।

तस्बिर साभारः सेतोपाटी

यादव नागरिकतामा भएको त्रुटिका कारण अनुपस्थित रहे भने कैलाली– १ बाट विजयी रेशम चौधरी फौजदारी अभियोग लागेर पुर्पक्षका लागि थुनामा छन् । रायमाझी र चापागाईं पितृशोकमा रहेका कारण उपस्थित हुन नसकेका हुन् । प्रहरीको फरार सूचीमै रहेका सांसद् नवराज सिलवालले भने सपथ लिए ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभामा सदस्यका लागि गरेको सिफारिसलार्इ बेवास्ता गर्दै केपी ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत ३ सांसदले पनि सपथ लिएनन् ।

ओली सरकारको सिफारिसमा राष्ट्रपतिले डा. युवराज खतिवडा, डा. विमला पौडेल राई र रामनारायण विडारीलाई मनोनीत गरेकी थिइन् । तर, यसविरुद्ध सर्वोच्चमा मुद्दा परेको छ र उनीहरूलार्इ सपथ नगराउने अन्तरिम आदेश अदालतले दिएको छ ।

४४ सांसदहरुले आ–आफ्नै मातृभामा र अन्य सांसदहरुले नेपाली भाषामा सपथ लिए । ४४ सांसदहरुले मैथिली, भोजपुरी, थारु, मगर, अवधि, नेवारी, हिन्दी, उर्दु र तामाङ गरी १० मातृभाषामा सपथ लिएको संघीय संसद सचिवालयले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर