newskoseli.Com

पहिलो पटक महिला बनिन् सीआईएको निर्देशक

संसारभरि सञ्जाल भएको अमेरिकी जासुसी संस्था सीआईएको निर्देशकमा पहिलो पटक महिला नियुक्त भएकी छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार सीआईएकी सहनिर्देशक जिना हास्पेललाई निर्देशकमा नियुक्त गरेका हुन् । ट्रम्पले मंगलबारै विदेशमन्त्री रेक्स टिलर्सनलाई बर्खास्त गरेका थिए । सीआईएका निवर्तमान निर्देशक माइक पम्पेओलाई भने ट्रम्पले नयाँ विदेशमन्त्रीमा नियुक्त गरेका छन् ।

पम्पेओ विदेशमन्त्री बनेपछि रिक्त स्थानमा जिना नियुक्त भएकी हुन् । ६१ वर्षीया जिनाले ३३ वर्षअघि सीआईएमा जागिर सुरु गरेकी थिइन् । जिनाका ३३ वर्षे जागिरका धेरै वर्ष जासुसीमै बिते । यसअघि उनले आतंकवादविरुद्ध लड्ने विभागको समेत नेतृत्व गरिसकेकी छन् ।

ट्रम्पले उनलाई गत वर्ष सीआईएको सहनिर्देशकमा नियुक्त गरेका थिए । अमेरिकी बन्दीगृहहरूमा दिइएको यातनामा भूमिका रहेको भन्दै डेमोक्र्याटहरुले उनको विरोध गरेका थिए । उनको नियुक्ति अमेरिकी सिनेटले अनुमोदन गनु पर्नेछ ।

जिना सन् २००२ मा थाइल्यान्डको ब्ल्याक साइट जेलमा प्रमुख थिइन् । सिनेटमा उनलाई ब्ल्याक साइट जेललगायतका ठाउँमा बन्दीहरुलाई दिइएको यातनाबारे प्रश्न सोधिने अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर