इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतना मुख्यालयमा सोमबार दुई सैनिकको ‘रहस्यमय’ मृत्यु भएको छ ।
सोमबार साँझ पृतनाभित्रै रहेको पोखरीको डिलमा दुई सैनिक अर्धचेत अवस्थामा फेला परेको जानकारी नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले दिए ।
‘उनीहरुलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो,’ प्रवक्ता भण्डारीले भने– ‘राति नै अस्पतालले उनीहरुलाई मृत घोषणा गर्यो ।’ मृत्यु हुने दुवै जना अन्य दर्जाका सैनिक हुन् ।
उनीहरु पृतनाभित्रै रहेको सबुज गणमा कार्यरत थिए । ‘के कारणले सैनिकहरुको मृत्यु भयो भन्नेबारे अनुसन्धान भइरहेको छ, अहिले नै धेरै कुरा भन्न सक्ने अवस्था छैन’– प्रवक्ता भण्डारीको भनाइ छ ।