newskoseli.Com

३३ केजी सुन ‘गायब’ प्रकरण : फेरि दोस्रो व्यक्तिको ज्यान गयो

तस्करीको ३३ किलो सुन ‘गायब’ पारिएको काण्डकै सिलसिलामा भरिया सनम शाक्य हत्याकाण्डको छानविनका लागि पक्राउ परेका नेपाल एयरलाइन्सका लोडरले प्रहरी हिरासतमै ‘आत्महत्या’ गरेका छन् ।

छानविन गर्न बनेको समितिले नियन्त्रणमा लिएर सिंहदरबारस्थित प्रहरी वृत्तमा राखिएका नेपाल एयरलाइन्सका लोडर प्रेमलाल चौधरी शुक्रबार बिहान ४ बजेर ४५ मिनेटमा ट्वाइलेटमा अचेत अवस्थामा फेला परेका हुन् । बिहीबार प्रहरी थुनामा परेका चौधरीले लगाएको सुरुवालले ट्वाइलेटमा पासो लगाएर ‘आत्महत्या’ गरेको जानकारी प्रहरी स्रोतले दिएको छ ।

चौधरी ३० वर्षदेखि त्रिभुवन विमानस्थलस्थित नेपाल वायुसेवा निगमको जहाजमा लोडरको काम गर्दै आएका थिए । तस्करहरुले यातना दिएर उर्लाबारी– ७, मोरङका सनम शाक्यको यसअघि फागुन १८ मा हत्या गरेका थिए ।

सनमको हत्या भएसँगै उक्त घटनामा जोडिएका प्रहरी अफिसरहरुको भूमिकामाथि प्रश्न उठाउँदै गृह मन्त्रालयले सहसचिव ईश्वरराज पौडेलेको नेतृत्वमा छानविन समिति गठन गरेको थियो । समितिले बिराटनगरलाई केन्द्रविन्दु बनाएर घटनाबारे अनुसन्धान गरिरहेको छ ।

यसै क्रममा समितिले बिहीबार आरके ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्यलाई नियन्त्रणमा लिएको थियो । शाक्य पक्राउ परेसँगै उक्त सुन प्रकरणमा पक्राउ पर्नेका संख्या २१ पुगेको छ ।

३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा शंकास्पद भूमिका देखिएको भन्दै गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालयले अपराध महाशाखाका एसएसपी दिवेश लाहनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई महाशाखाको जिम्मेवारीबाट हटाइसकेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर