newskoseli.Com

२०७५ साल, विदेशिएका युवा फर्कने सुरुआती वर्ष : प्रचण्ड

नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्ष– २०७५ विदेशिएका युवा स्वदेश फर्कन थालनी गर्ने वर्ष हुने विश्वास व्यक्त गर्दै सोही कामना गरेका छन् ।

अबको दशकलाई समृद्ध नेपाल निर्माणको दशक बनाउने सङ्कल्प गर्न समेत अध्यक्ष प्रचण्डले सबैमा आह्वान गरेका छन् । बाग्लुङको ढोरपाटन नगरपालिकास्थित बुर्तिबाङमा शनिवार आयोजित ढोरपाटन महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले निजी, सार्वजनिक र सहकारीको सहकार्यमा तीव्र आर्थिक विकास गर्ने सङ्कल्प गर्न आह्वान गरेका हुन् ।

‘विकासका निम्ति निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यविना तीव्र आर्थिक विकास हुन सक्दैन त्यसकारण निजी क्षेत्रसँग सहकार्य गर्ने प्रक्रियामा पनि एउटा नयाँ मोडल विकास गर्न चाहेका छौं,’ उनले भने– ‘निजी, सार्वजनिक र सहकारीबीचको सहकार्यबाटै आउँदो दशकभित्र नयाँ र समृद्ध नेपाल निर्माण गरिछाड्ने सङ्ककल्प गरौं, म सबैमा यही आह्वान गर्न चाहन्छु ।’

समृद्धिको यात्राका लागि राष्ट्रिय एकतालाई केन्द्रमा राखेर लाग्न अध्यक्ष प्रचण्डले प्रतिपक्षी दललाई समेत आह्वान गरे । ‘एकता नबनेको भए न १२ बुँदे समझदारी हुन्थ्यो न शान्ति सम्झौता हुन्थ्यो; न त संविधान बन्थ्यो न सङ्घीय गणतन्त्र र ३ तहको सरकार तथा विकासका निम्ति राष्ट्रिय सङ्कल्प नै हुनेथियो,’ उनले भने– ‘हामी अहिले पनि विकासका एजेन्डामा, निर्माणमा, समृद्धिमा, स्थायित्वमा कोही पनि सत्तापक्ष र प्रतिपक्ष होइनौं; राष्ट्रिय एकतालाई केन्द्रमा राखेर विकासको काममा हातेमालो गर्न वा सहकार्य गर्न सत्तापक्ष अथवा वाम गठबन्धन तयार छ ।’

नेपाली जनता ६० वर्षदेखि राजनीतिक अराजकताको चपेटामा परेकाले विकासका काममा पछाडि परेको भन्दै अध्यक्ष प्रचण्डले नयाँ संविधान बनेपछि त्यो स्थितिको अन्त्य भएको बताए । ‘एउटा सरकारले अगाडि सारेका कामहरू अर्को सरकार आएर भत्काइदिने र अर्कोले नयाँ योजना अगाडि सार्दा जनता जहिले पनि अन्योल र भ्रममा रहनुपर्ने बडो विचित्रको विडम्बना हामीले भोग्यौं,’ उनले भने– ‘नेपालको इतिहासमा यी सबै चुनैतीहरुलाई पार गर्दै नयाँ राष्ट्रिय एकता कायम गर्ने र नयाँ वातावरण निर्माण गर्ने सङ्घीयताको, गणतन्त्रको, समावेशिताको, समानुपातिकताको, विकासको, शिक्षाको, स्वास्थ्यको, रोजगारीको अधिकारलाई मौलिक अधिकारका रूपमा व्याख्या गरेको संविधान निर्माण गरेका छौं, यसले धनी र गरिबका बीचको दुरी घटाउने सुनिश्चितता गरेको छ ।’

नयाँ वर्ष– २०७५ लाई विदेशमा रहेका नेपाली युवाहरू देशभित्रै फर्कने सुरुआती वर्षको रूपमा हेर्न अध्यक्ष प्रचण्डले अपिल गरे । ‘देशबाहिर रहेका सम्पूर्ण नेपालीलाई अब नेपालभित्रै रोजगारीको सृष्टि गर्ने र आर्थिक विकासमा गति प्रदान गर्ने अभियान चलेको छ,’ उनले भने– ‘यो नयाँ वर्षलाई नेपाली युवाहरू देशभित्रै फर्कने वर्षका रूपमा हेर्न म सबैमा अपिल गर्दछु ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर