newskoseli.Com

एमाले–माओवादी केन्द्रबीच ‘निर्णायक’ वार्ता हुँदै…

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकताबारे मंगलबार निर्णायक वार्ता हुँदैछ । एकीकृत पार्टीमा दुवै दलको सहभागिता अनुपातलगायतका विषयमा यस वार्तामा छलफल हुँदैछ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दुवैले मंगलबार केन्द्रीय एकता संयोजन समितिमा निर्णायक वार्ता हुने बताएका छन् । वार्तामा सहमति जुटे वैशाख ९ गते पार्टी एकता हुनेछ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको एमाले स्थायी कमिटी बैठकले वैशाख ९ गते नै एकतालाई अन्तिम रुप दिन गरी छलफल अघि बढाउने निर्णय गरेको छ ।  प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले बैठकमा एकताका विषयमा टुंगो लगाउने गरी मंगलबार छलफल हुने जानकारी गराएका छन् ।

‘अध्यक्षले माओवादी अध्यक्ष दाहालसँग भएको छलफलबारे ब्रिफिङ गर्नुभयो,’ स्थायी कमिटीका सदस्य सुवास नेम्वाङले भने– ‘उहाँले कार्यदलले बुझाएको मस्यौदामाथि मंगलबारदेखि छलफल गरेर अन्तिम रुप दिइने जानकारी गराउनुभयो । वैशाख ९ गते नै एकता हुने गरी पहल गर्ने निर्णय भएको छ ।’

बैठकमा अध्यक्ष ओलीले वैशाख ९ गते नै पार्टी एकता हुने गरी छलफल अघि बढ्ने बताएका थिए । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा पारेर एकता गर्नुपर्ने कार्यदलको सुझाव थियो । नेम्वाङका अनुसार एकता संयोजन समिति बैठकले पारित गरेका विषयलाई एमाले पोलिटब्युरो तथा केन्द्रीय कमिटीबाट पारित गरिनेछ ।

एमालेले वैशाख ६ गते पोलिटब्युरो र वैशाख ७ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । माओवादी केन्द्रले पनि मंगलबार बिहान शीर्ष नेताहरुबीच छलफल गरेको छ ।

सोमबार एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा करिब दुई घन्टासम्म एक्लाएक्लै छलफल भएको थियो । छलफलमा दुवै अध्यक्षले एकता प्रक्रियाबारे आआफ्नो धारणा राखेका थिए । प्रधानमन्त्री ओली र दाहालबीच करिब साढे दुई घन्टा छलफल भएको थियो ।

छलफलका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सोमबार बिहान सिन्धुपाल्चोकको सुकुटेबाट काठमाडौंमा आएका थिए । ‘दुवै अध्यक्षबीच भएको छलफलमा भोलि (मंगलबार) बिहान नौ बजे केन्द्रीय एकता संयोजन समितिको बैठक बोलाउने सहमति भएको छ’– प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने । एमाले अध्यक्ष ओलीसँगको बैठक स्थगित गरेर दाहाल आइतबार सिन्धुपाल्चोकको सुकुटेतर्फ लागेका थिए । त्यसपछि वैशाख ९ गते हुने भनिएको एकताबारे आशंका उत्पन्न भएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर