newskoseli.Com

उपप्रमुखद्वारा नगरपालिकामा तालाबन्दी, निहुँ– गाडी भाडा नपाएको…

रुपन्देहीस्थित लुम्बिनी सांस्कृतिक नगरपालिकामा तालाबन्दी गरिएपछि कामकाज ठप्प भएको छ । नगरपालिकाकी उपप्रमुख जानकीदेवी श्रीवास्तवले नै नगरपालिकाका प्रशासकीय अधिकृत मोहन पौडेललाई बाहिर निकाली उनको कार्यकक्षमा तालाबन्दी गरिदिएकी हुन् ।

उपप्रमुको तालाबन्दीको विरोधमा गर्दै सोमबार नगरपालिकाका सबै शाखाहरूमा उपभोक्ता समितिले तालाबन्दी गरिदिएको छ । वार्षिक योजना फर्छ्योट हुने समयमा भएको तालाबन्दीका कारण नगरपालिकाका सबै कार्यतालिका प्रभावित भएका छन् ।

कात्तिकदेखि प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका पौडेलले आफू नगरपालिकामा गएदेखि नै उपप्रमुखले गाडी भाडा रकम माग गर्दै आएको बताएका छन् । नगरपरिषद् तथा नगरकार्यपालिकाको निर्णयविपरीत आफूले रकम दिन नसकेपछि उपप्रमुखले आफ्नो कार्यकक्षमा तालाबन्दी गरिएदिएको उनले बताए ।

आफ्नो कार्यकक्षमा तालाबन्दी गरेपछि उपप्रमुखको नेतृत्वमा वडा– ३ का अध्यक्ष अकारामुद्धिन नाउ मुसलमान, वडा– ७ का अध्यक्ष ध्रुव यादव र वडा– १० का अध्यक्ष रामजान अन्सारी आर्इ निवास समेत छोड्न भन्दै धम्की दिएपछि सुरक्षाका लागि आफू भैरहवामा बस्दै आएको पौडेलले बताए ।

नगरपालिकामा भएको एउटा गाडी कार्यकारी अधिकृतले प्रयोग गर्दै आएको र तत्काल गाडी खरिद गर्ने स्रोत नभएको भन्दै नगरपरिषदको निर्णयबाट नै नगरप्रमुखले साउनदेखि मासिक १ लाख रुपैयाँ भाडा तिरेर गाडी प्रयोग गर्दै आएको पौडेलले बताए । नगरप्रमुख चौधरीले प्रयोग गर्दै आएको बा १७ च ६०९ नम्बरको गाडीभाडाबापत सोही नगरपालिकास्थित पडरिया निवासी बसिउल्लाह मुसलमानको नाममा १ लाख रुपैयाँको चेक काट्ने गरिएको जानकारी लेखाप्रमुख आलोक बानियाँले दिए ।

नगरप्रमुखले गाडी भाडावापत रकम पाउने भएपछि उपप्रमुखले पनि आफूलाई गाडीभाडा रकम दिन दबाब दिँदै आएकाले विवाद चर्केको बानियाँले बताए । प्रशासकीय अधिकृत पौडेलले नगरपालिकाको आम्दानी–खर्च प्रत्येक महिना पेस नगरेको, बोर्डको निर्णयबिना कर्मचारी भर्ना गरेकोलगायतका आरोप उपप्रमुख श्रीवास्तवले लगाएकी छन् ।

कार्यालयमा विषयगत कार्यालयहरूको समेत जिम्मेवारी थपिएपछि कामको चापका कारण एक जना अस्थायी कर्मचारी नियुक्त गरिएको दावी नगर अधिकृत पौडेलले गरे । कामको चाप र आवश्यकता हेरी कामचलाउ कर्मचारी राख्ने अधिकार नगर अधिकृतलाई रहेको भन्दै सोही बमोजिम आफूले एक जना कर्मचारी राखेको उनले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर