newskoseli.Com

कक्षा १२ को परीक्षा सुरु, ४ लाख १५ हजार परीक्षार्थी सहभागी

शुक्रबारदेखि कक्षा १२ को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसी) देशभर एकैसाथ सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको परीक्षा बिहान ७ बजेदेखि देशभरका १ हजार ५१ परीक्षा केन्द्रमा शान्तिपूर्ण रुपमा सुरु भएको परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिएका छन् ।

कक्षा १२ काे परीक्षा वैशाख २७ सम्म सञ्चालन हुनेछ भने कक्षा ११ को परीक्षा भने वैशाख ३० देखि सुरु भई जेठ २९ मा सम्पन्न हुनेछ ।

सबैभन्दा बढी काठमाडौँमा (१ सय १४ वटा) र सबैभन्दा कम मनाङ र मुस्ताङमा (१–१ वटा मात्र) परीक्षा केन्द्र रहेका छन् । परीक्षामा देशभरका ३ हजार ९ सय १२ विद्यालयका २ लाख ८ हजार २ सय ७६ छात्र र २ लाख ६ हजार ९ सय ७५ छात्रा गरी कूल ४ लाख १५ हजार २ सय ५२ परीक्षार्थी सहभागी छन् ।

सबभन्दा बढी काठमाडौंमा ६१ हजार ९ सय २६ तथा सबैभन्दा कम मनाङमा ८८ जना परीक्षार्थी परीक्षामा सहभागी भएको जानकारी बतासले दिए । परीक्षामा १ हजार ५१ केन्द्राध्यक्ष, १ हजार ८ सय ८८ सहायक केन्द्राध्यक्ष, २० हजार ८ सय ६३ निरीक्षक, १ हजार ६० परीक्षा केन्द्रमा खटिने कर्मचारी, २ हजार १ सय २० कार्यालय सहयोगी, १२ हजार ७ सय २० सुरक्षाकर्मी गरी कूल ३९ हजार ७ सय २ जनशक्ति परिचालित भएकाे बोर्डले जनाएकाे छ ।

परीक्षा सम्पन्न भएको ९० दिनभित्रै नतिजा सार्वजनिक गर्ने तयारी गरेको बताउँदै परीक्षामा मोबाइल फोन लैजान निषेध गरिएको, सूचना आदान–प्रदान गर्न परीक्षा कन्ट्रोल रुमको व्यवस्था गरिएको, कम श्रवणशक्ति भएका, दृष्टिविहीन वा सुस्त मनस्थिति वा अन्य प्रकृतिको अपांगता भएका परीक्षार्थीका लागि परीक्षाको विशेष व्यवस्था गरिएको, कारागार वा बालसुधार गृहमा रहेका परीक्षार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको बोर्डका सदस्यसचिव दुर्गा अर्यालले बताए ।

परीक्षामा अमर्यादित काम गरेको पाइएमा ६ महिना कैद र १ लाख रूपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर