सरकारले भक्तपुर–काभ्रे जोड्ने गरी सुरुङमार्ग निर्माण गर्न आगामी अा.व. को नीति तथा कार्यक्रममा याेजना समावेश गर्ने तयारी गरेको छ । सो सुरुङमार्गले कोटेश्वरपूर्वको बढ्दो ट्राफिक जाम कम गर्ने सरकारको अनुमान छ ।
सूर्यविनाकय–धुलिखेल सुरुङमार्गका लागि जापान सरकारसँग ऋण सम्झौताको तयारी भइरहेको जानकारी सडक विभागको वैदेशिक शाखाका उपनिर्देशक सञ्जय श्रेष्ठले दिएका छन् । उनका अनुसार गत मार्चमा जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को एउटा टोलीसँग सुरुङमार्ग निर्माणबारे छलफल भइसकेको छ । मे महिनामा ऋण सम्झौता भएर काम अघि बढाउने तयारी भैरहेको जानकारी उनले दिएका छन् ।
भक्तपुरको पलाँसेबाट साँगासम्म करिव १.५ किमी दुरीका धुलिखेलतर्फबाट आउने र भक्तपुरतर्फबाट जाने दुई फरक–फरक लेनका सुरुङमार्ग निर्माण हुने उनले बताए । श्रेष्ठका अनुसार सुरुङमा चौबीसै घन्टा भेन्टिलेटर, सीसी क्यामरा, अग्निनियन्त्रक उपकरण र बत्तीको व्यवस्था गरिनेछ ।
उक्त सुरुङमार्ग सहित सो रूटको १६ किलोमिटर सडक ८ लेनमा विस्तार गर्न कूल २५ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।