newskoseli.Com

देहरादुन–काठमाडौं सिधा बससेवा…

भारतीय जनता पार्टीका नेता तथा देहरादुनका एमएलए गणेश जोशीले देहरादुनदेखि काठमाडौंसम्म सिधा बस सेवा सञ्चालन गरिने बताएका छन् ।

सोमबार काठमाडौमा आयोजित एक कार्यक्रममा बोल्दै नेता जोशीले आफूले देहरादुन र काठमाडौंबीच सिधा बस सेवा सञ्चालनका लागि प्रयत्न गरिरहेको बताएका हुन् । ‘नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउन देहरादुनदेखि काठमाडौंसम्म सिधा सम्पर्कका लागि हामीले पहल गरिरहेका छौं,’ उनले भने– ‘अब केही समयभित्रै देहरादुनदेखि काठमाडौसम्म सिधा बस सेवा सञ्चालनमा आउनेछ ।’

आफूले देहरादुनदेखि काठमाडौंसम्म सिधा हवाई सेवाका लागि समेत पहल गरेको पनि उनले बताए । ‘देहरादुनदेखि काठमाडौंसम्म सिधा हवाई सेवाका लागि समेत पहल गरेको छु तर भन्सारका कारणले त्यो विषय अगाडि बढ्न सकेको छैन’– उनले भने ।

आफूले दिल्लीसम्म आवाज उठाएको र निकट भविष्यमै यसको पनि समाधान हुने र देहरादुनदेखि काठमाडौंसम्म सिधा हवाई सेवा सञ्चालनमा आउने उनले बताए । तीन दिने अनौपचारिक नेपाल भ्रमणमा आएका जोशीले काठमाडौंमा नेपाल–भारत मैत्री संघद्वारा आयोजित कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन् ।

जोशीले नेपाल–भारत सम्बन्धलाई थप मजबुद बनाउँदै जनस्तरसम्म पु¥याउन आफूले हरप्रकारको सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री डम्बरनारायण यादवले नेपाल–भारत सम्बन्धलाई राजनीतिक रुपमा मात्र हेर्नु नहुने बताए । ‘नेपाल–भारत सम्बन्धलाई राजनीतिक रुपमा मात्र हेर्नु हुँदैन, हाम्रो सम्बन्ध राजनीति भन्दा निकै परसम्मको छ र यस्तो सम्बन्ध अन्य कुनै देशसँग बन्न पनि सक्दैन’– उनले भने ।

कार्यक्रममा राजनीतिक विश्लेषक विपिन देव, साउथ एसिया फ्राटरनीटी सोसाइटीका अध्यक्ष महावीरप्रसाद सिंह तथा नेपाल–भारत मैत्री संघका उपाध्यक्ष शेखर गिरीले पनि मन्तव्य राखे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर