newskoseli.Com

यात्रुले देख्नेगरी सार्वजनिक यातायातभित्रै नम्बर प्लेट अनिवार्य

 

उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनले यात्रुले देख्नेगरी सवारी साधनको भित्री भागमा पनि नम्बर अनिवार्य राख्नुपर्ने भएको छ । सार्वजनिक यातायातमा यात्रुले धेरै सरसामान छोड्ने र हराउने क्रम बढेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाको पहलमा ट्याक्सी, माइक्रोबस, बसदेखि सबैखाले सार्वजनिक यातायातले अगाडि नम्बर राख्नुपर्ने व्यवस्था गरेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखामा आज आयोजित पत्रकार सम्मेलनमा यात्रुको सहजताका लागि बसभित्र पनि नम्बर राख्ने व्यवस्था मिलाइएको जानकारी दिइयो । महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले सार्वजनिक यातायातमा यात्रुले सरसामान धेरै छोड्ने तर सवारी साधनको नम्बर थाहा नहुँदा हराउने क्रम गरेपछि महाशाखाले सामानको सुरक्षा र सहज यात्राका लागि भित्रपट्टी पनि सवारी साधन नम्बर राख्ने व्यवस्था मिलाएको बताए ।

उनले ट्राफिक व्यवस्थापनलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन बस स्टपमा उक्लने र ओर्लने यात्रुलाई लाइन लगाएर सवारी साधन चढाउने, लेन अनुशासनलाई कडाइ गर्ने, जेब्राक्रसिङलाई प्राथमिकता दिने, आकाशेपुलको प्रयोग गर्न लगाउनाका साथै सडक तथा फुटपाथलाई व्यवस्थित गर्न लागिएको जानकारी दिए ।

प्रहरी वरिष्ठ उपरीक्षक पन्तले गृह मन्त्रालयको ८२ बुँदे गृह प्रशासन सुधार योजना र प्रहरी महानिरीक्षकको १० बुँदे प्राथमिकतालाई महाशाखाले कडाइका साथ लागू गर्ने बताए । तोकिएको सिट नराख्ने, इजाजत नलिई सवारी साधन चलाउने, सिटभन्दा धेरै माइक्रोबस र टेम्पोमा यात्रु राख्ने, सार्वजनिक सवारी साधनमा धूमपान गर्ने, ध्वनि संकेत निषेधित क्षेत्रमा ध्वनि संकेत दिने, निर्धारित गतिभन्दा बढी बेगले सवारी चलाउने र दुर्घटना गराइ फरार हुने सवारी साधनलाई एक हजार जरिवाना महाशाखाले गर्दै आएको छ ।

महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक पन्तले कान्तिपथबाट हरेक दिन सञ्चालन भइरहेका सवारी साधनलाई नयाँ बसपार्कबाट सञ्चालन गर्ने प्रयास भइरहेको बताए । स्कुल, कलेज, संघसंस्थामा ट्राफिक जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै प्रिन्टर जडान नगर्ने तथा बढी भाडा लिने ट्याक्सी, सीसीटीभीको निगरानीमा सवारी नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाही गर्ने र बढी दुर्घटनाका रुपमा हेरिएका टिपर, ट्रकलाई दैनिक जाँचको व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ ।

हाल काठमाडौँ उपत्यकामा ११ लाख ३२ हजार ९२९ सवारी साधन सञ्चालनमा छन् । आर्थिक वर्ष २०७४/७५ को १० महिनामा उपत्यकामा १ सय ४९ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएको महाशाखाको तथ्याङ्कमा उल्लेख छ । जसमध्ये १ सय १७ पुरुष र ३२ महिला थिए ।

चालू आ.व. मा ३ लाख ७८ हजार ९ सय २७ सवारी साधनलाई कारबाही गरिएको महाशाखाले जनाएको छ । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर