नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका स्टेट अफेयर्स कमिसनका अध्यक्ष किम जोङ उनबीच भएको वार्ताले विश्व शान्ति कायम गर्नका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् ।
नेता नेपालले बिहीबार जारी गरेको विज्ञप्तिमा गत मंगलबार उनीहरुबीच सिंगापुरमा भएको ऐतिहासिक वार्ताको स्वागत गर्दै शान्ति, समृद्धि र निःशस्त्रीकरणका लागि भएको चारबुँदे सम्झौताले कोरिया प्रायद्वीपका साथै विश्वमा शान्ति कायम गर्न भूमिका निर्वाह गर्ने जनाइएको छ ।
विज्ञप्तिमा हालैका दिनमा कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि भएका प्रयासमा सो वार्ताले भविष्यका लागि समेत मार्गदर्शन गर्ने उल्लेख गर्दै भनिएको छ– ‘मुलुकका बीचमा देखापर्ने कुनै पनि समस्याको समाधान आपसी संवादका माध्यमबाट शान्तिपूर्ण ढंगले खोज्न यस वार्ताले समस्त विश्वलाई अभिप्रेरित गरेको छ ।’
सहमति भएका विषयलाई कार्यान्वयन गर्ने र आपसी हितका बाँकी विषयमा थप समझदारी गर्दै जाने कुराले कोरियाली प्रायद्वीपमा दिगो शान्ति कायम गराउने बताउँदै नेता नेपालले दुई कोरियाबीच गत अप्रिल २७ मा भएको ऐतिहासिक वार्तालाई समेत निरन्तरता दिँदै आगामी दिनमा शान्ति स्थापनाका क्षेत्रमा निर्णायक कदम चालिने अपेक्षा गरेका छन् । रासस









