newskoseli.Com

प्रधानमन्त्री ओली चीनमा : को–को सहभागी छन् उच्चस्तरीय भ्रमण दलमा ?

 

चिनिया प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओली छ दिने औपचारिक चीन भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् ।

मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रधानमन्त्री ओलीसहित उनकी पत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसदहरु, नेपाल सरकारका उच्च अधिकारी, निजी क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मीलगायतको टोली हिमालय एयरलायन्सको विशेष विमानबाट बेइजिङ प्रस्थान गर्‍यो ।

प्रधानमन्त्री ओलीलाई बिदाई गर्न नेकपाका नेताहरु माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वामदेव गौतम, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, सभामुख कृष्णबहादुर महरालगायत विमानस्थल पुगे । प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा बेइजिङमा चिनियाँ समकक्षी लीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नुका साथै नेपाल–चीन व्यापारिक मञ्च तथा विद्वत् समूहलाई सम्बोधन गर्नेछन् ।

चीनका राष्ट्रपति सी चिनफिङले अघि सारेको ‘एक क्षेत्र, एक मार्ग (बीआरआई) अन्तर्गत पूर्वाधार निर्माण, लगानी, ऊर्जा, पर्यटनलगायत विषयमा द्विपक्षीय छलफल र समझदारीपत्रमा हस्ताक्षर गर्ने जानकारी परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले दिएका छन् ।

आर्थिक–सामाजिक विकास र समृद्धि हासिल गर्ने नेपाल सरकारको लक्ष्यलाई केन्द्रबिन्दुमा राखेर प्रधानमन्त्रीको भ्रमण तयारी गरिएको बताइएको छ । द्विपक्षीय सहयोगलाई अझ व्यापक र फराकिलो बनाउने उद्देश्यसहित प्रधानमन्त्रीको चीन भ्रमण भएको सरकारी दावी छ ।

भ्रमणका क्रममा केही सहमति–समझदारीपत्रमा हस्ताक्षर हुने छ । यस भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासाको समेत भ्रमण गर्नेछन् । उनले त्यहाँ तिब्बतका प्रान्तीय नेतासँग समेत भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा ४२ जनाको सरकारी प्रतिनिधिमण्डल, ६ जना सञ्चारकर्मी र ८ जना बेइजिङस्थित नेपाली दूतावासका कर्मचारी–कूटनीतिज्ञ सहभागी छन् । ११ जना कतिपय नेपाली सञ्चार माध्यमका प्रधान सम्पादक एवं वरिष्ठ पत्रकार र ५२ जना उद्योगी–व्यापारी समेत प्रधानमन्त्रीको भ्रमण टोलीमा सहभागी छन् ।

चीन भ्रमण पूरा गरी प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल असार १० मा स्वदेश फर्कने कार्यक्रम छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर