newskoseli.Com

वर्षमा ११ प्रतिशत बढिरहेछन् लागूऔषध प्रयोगकर्ता : ५ देखि ७ प्रतिशतमा झार्ने सरकारी योजना

नेपालमा लागूऔषध प्रयोगकर्ताको वृद्धिदर वार्षिक ११ प्रतिशत रहेको सम्बद्ध सरकारी अधिकारीले जनाएका छन् ।

बुधबार गृह मन्त्रालयमा आयोजित पत्रकारहरुसँगको साक्षात्कार कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले सो आँकडा पेस गर्दै यसलाई यो वर्ष ५ देखि ७ प्रतिशतमा झार्ने लक्ष्यसहित गृह मन्त्रालयले कार्ययोजना बनाएको बताए ।

लागूऔषध दुरुपयोग एवम् ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका क्रममा नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी बुधबारदेखि सप्ताहव्यापी कार्य सुरु भएको छ । यसै अवसरमा गृहसचिव राईले असार १२ सम्म विविध कार्यक्रमको आयोजना गरी सप्ताहव्यापी रुपमा संघ, प्रदेश र स्थानीय तहमा यो दिवस मनाइने जानकारी दिए ।

लागूऔषधको प्रयोग र ओसारपसार समग्र समाज र राष्ट्रका लागि चुनौती बन्दै गएकाले यसविरुद्ध सबैको साथ र सहयोग आवश्यक रहेकामा उनले जोड दिए । गृहसचिव राईले हाल वार्षिक ११ प्रतिशतका दरले लागूऔषधका प्रयोगकर्ता बढिरहेको विवरण पेस गरेका हुन् । कार्यक्रममा गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद शर्मा दुवाडीले कार्ययोजनासहित सचेतना अभियान सञ्चालन, लागूऔषध नियन्त्रणसम्बन्धी नीति, ऐन, निर्देशिका तर्जुमा तथा परिमार्जन सम्बन्धमा छलफल, अन्तरक्रिया, गाँजा–अफिम फडानी, प्रभातफेरी र सभालगायतका कार्यक्रम आयोजना गरिने जानकारी दिए ।

नेपालमा अहिले करिव १ लाख ५० हजारभन्दा बढी लागूऔषध प्रयोगकर्ताहरु रहेको विवरण प्रस्तुत गर्दै यसको नियन्त्रका लागि कठोर रुपमा सरकार प्रस्तुत हुने तयारी गरिरहेको उनले बताए । कार्यक्रमअन्तर्गत असार १२ मा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को उपस्थितिमा काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरिने जानकारी दिइयो ।

लागूऔषधको उत्पादन, ओसारपसार, बिक्रीवितरण तथा सेवनलाई प्रभावकारी रुपमा नियन्त्रणका लागि आवश्यक अध्ययन, अनुसन्धान, सर्वेक्षण तथा सोको आधारमा नीतिगत तथा कानुनी व्यवस्था परिमार्जन गरी कार्यान्वयन गर्न प्रतिबद्ध रहेको गृहमन्त्रालयले जनाएको छ । यस वर्षको राष्ट्रिय नारा ‘स्वस्थ, सबल र समृद्ध नेपालको प्रतिबद्धता : लागूऔषध अपराधविरुद्धको ऐक्यबद्धता’ रहेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर