newskoseli.Com

कांग्रेस अब एकढिक्का बन्छ, नत्र दुई ठुन्का हुन्छ : देउवा

 

हेटौंडामा जारी जिल्ला सभापतिहरूको चौथो राष्ट्रिय भेलामा आफूविरुद्ध घोषित मोर्चाबन्दीमा उत्रिएका कांग्रेस नेताहरुलाई सभापति शेरबहादुर देउवाले कडा चेतावनी दिएका छन् ।

‘अब कांग्रेस कि एकढिक्का बन्छ नत्र दुई ठुन्का हुन्छ’ भन्दै अबको चुनौती सामना गर्न सक्षम नेतृत्वको खोजी गर्ने अभियानमा लागेका नेताहरूलाई देउवाले भेलामा बोल्नै ‘प्रतिबन्ध’ लगाएको आरोप असन्तुष्टहरुले लगाउन थालेका छन् ।

यस्तो कदमले पार्टी सभापति देउवाले दावी गरेजस्तो एकढिक्का नहुने बरु गुटगत राजनीतिले झनै बढवा पाउने असन्तुष्ट नेताहरूको भनाइ छ । ‘देउवाले हेटौंडामा चलाएको डोजरले काङ्ग्रेस एकढिक्का होइन, असन्तुष्टहरुबीच थप मोर्चाबन्दी बढेर गुटबन्दी झन् झांगिने देखिन्छ’– केन्द्रीय सदस्य वीरबहादुर बलायरको भनाइ छ ।

हालै सम्पन्न तीनै चरणका निर्वाचनमा भएको कांग्रेसको पराजयमा देउवा नै मुख्य दोषी रहेको दावी गर्दै आएको असन्तुष्ट तप्कालाई सभापति देउवाले आफ्ना कारण नभई दुई ठूला ‘वाम’ दल– एमाले र माओवादी केन्द्रबीचको चुनावी तालमेल र एकता नै प्रमुख कारण रहेको दोहोर्‍याएर जिल्ला सभापतिहरूको भेलामा पनि आफ्नो बचाउ गरे ।

भेलामा उपस्थित केन्द्रीय सदस्य र जल्लिा सभापतिसहित झन्डै ३ सय काङ्ग्रेस नेताहरुले भने सभापति देउवाले आफ्नो कमजोरी स्वीकार्दै नेतृत्व परिवर्तनका निम्ति हेटौंडाबाटै मार्गप्रशस्त गर्ने आशा राखेका थिए । तर, देउवाले भने यसको ठीक विपरीत कडा शब्दमा आफ्नो बचाउ मात्रै गर्दै आगामी नियमित महाधिवेशनमा समेत नेतृत्वबाट पछि नहट्ने सङ्केत गरे ।

‘काङ्ग्रेसले एउटा लडाइँ हारे पनि पूरै मैदान नै हारेको छैन’, उदघाटन समारोहलाई सम्बोधन गर्दै देउवाले भने– ‘यो संविधानका आधारभूत तत्त्व वा मूल विशेषताहरू नेपाली काङ्ग्रेसको आदर्शबाटै निर्देशित छन् र यो संविधानको सफल कार्यान्वयन पनि हामीले नै गरेका छौं । यस अर्थमा हाम्रो विचारले जितेको छ । तसर्थ, म साथीहरूलाई कमजोर मानसिकता होइन, उच्च मनोबलका साथ अगडि बढ्न आह्वान गर्दछु ।’

पार्टीभित्र बढेका असन्तुष्टिहरूबारे आफू ‘अपडेट’ रहेको उल्लेख गर्दै देउवाले त्यस्ता अभिव्यक्तिलाई आफूले स्वभाविक रूपमा लिएको बताए । ‘केही आलोचनाहरूलाई मैले स्वाभाविक रूपमै लिएको छु तर कतिपय कुरा अतिरञ्जित र अशोभनीय ढङ्गले पनि उठ्न थालेका छन्,’ देउवाले भने– ‘पछिल्लो समयमा संविधानको निर्माण र कार्यान्वयन नै प्राथमिकताको विषय भएकाले स्वयं मेरो र पूरै पार्टीको सम्पूर्ण ध्यान र ऊर्जा त्यसैतर्फ केन्द्रित भयो र हामीले चाहे जसरी चुनावमा कांग्रेसलाई विजयी गराउन सकिएन ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर