newskoseli.Com

‘रवि लामिछाने प्रकरण’ समाधानउन्मूख : प्रेस काउन्सिलले जारी गर्‍यो यस्तो विज्ञप्ति (पूर्णपाठसहित)

 

केही दिनयता व्यापक चर्चामा रहेको ‘अमेरिकी नागरिक’ एवं ‘नेपाली टेलिभिजन प्रस्तोता’ रवि लामिछाने बारेको ‘समस्या’ समाधान नजिक पुगेको छ ।

बिहीबार अपराह्न प्रेस काउन्सिल नेपालका तर्फबाट सूचना अधिकारी एवं सहप्रशासकीय अधिकृत दीपक खनालद्वारा प्रेषित ‘सार्वजनिक महत्त्वको प्रेस विज्ञप्ति’ अनुसार ‘लामिछाने प्रकरण’ समाधानउन्मू भएको हो ।

यस्तो छ काउन्सिलद्वारा प्रेषित विज्ञप्तिको पूर्ण पाठ–

सार्वजनिक महत्त्वको प्रेस विज्ञप्ति

विगत ४ वर्षदेखि नेपालको अध्यागमन कानुन, श्रम कानुन, प्रेस कानुन उल्लंघन गर्दै आउनुभएका रवि लामिछानेमाथि आवश्यक कारबाही गरियोस् भनी प्रेस काउन्सिल नेपालमा परेको उजुरीमाथि छानबिन गर्ने क्रममा यही असार ६ गते निज लामिछानेले अमेरिकी राहदानी र नागरिकता परित्यागसम्बन्धी निवेदन दिएको जानकारी गृह मन्त्रालयबाट आज अपराह्न प्रेस काउन्सिल नेपालमा प्राप्त हुन आएको छ । न्यूज २४ मा कार्यरत रहँदाका बखत उहाँद्वारा प्रसारित कार्यक्रमबारे परेका दुईवटा उजुरीको छानबिनका क्रममा २०७४ चैत २३ गते स्पष्टीकरण सोधिंदा उहाँले आफू विदेशी नागरिक नभएको, पत्रकार पनि नरहेको र श्रम इजाजत लिएको झूठो दाबीसहित प्रेस काउन्सिललाई २०७५ बैशाख ६ गते लिखित जवाफ दिनुभएको थियो । त्यसपछि पनि सामाजिक सञ्जालमार्फत् अशिष्ट, अपुष्ट र आपत्तिजनक टिप्पणीहरु प्रेस काउन्सिलका सन्दर्भमा पोष्ट गर्दै आउनुभएपछि काउन्सिलले उहाँको नेपाल बसाई र यहाँ रहँदा काम गर्ने वैधताबारे सम्बन्धित निकायहरुमा २०७५ असार ४ गते पत्राचार गरेको थियो । त्यसको ४८ घण्टा नबित्दै २०७५ असार ६ गते निज लामिछानेले आफूले अमेरिकी दूतावासमा रु. २,५८,५००।— दस्तुर बुझाई अमेरिकी नागरिकता र राहदानी परित्याग गरेको जानकारी गराउँदै अध्यागमन विभागलाई निवेदन दिनुभएको छ । नेपालमै रही सञ्चारसम्वद्ध पेशा व्यवसायमा संलग्न हुने उहाँको व्यक्तिगत रुचीको कदर गर्दै प्रेस काउन्सिल नेपाल उहाँलाई सार्वभौम राष्ट्रको प्रचलित नियम, कानुन, विधि, प्रक्रियाको पूर्ण परिपालना गर्न, पेशागत मर्यादामा ध्यान दिन तथा आफ्ना लेखाई वा प्रस्तुतिहरुमा शिष्टता, जिम्मेवारीवोध र पेशागत शुद्धताको ख्याल गर्दै विद्युतीय कारोबार ऐनलगायत तत्सम्बन्धी प्रचलित अन्य कानुनहरुको समेत उल्लंघन नहुने कुरामा ध्यान पुर्‍याउन निर्देशित गर्दछ ।

प्रेस काउन्सिल नेपाल पत्रकारिता पेशाको उच्चतम आचरण पालनामार्फत् यसको गरिमा र पत्रकारहरुको पेशागत सुरक्षा तथा प्रतिष्ठा प्रवर्द्धनमा सततः क्रियाशील छ । पवित्र ध्येयका साथ यस संस्थाबाट भए गरिएका कुनैपनि काम–कारबाहीउपर बदनियतपूर्ण र अवाञ्छित टिका–टिप्पणी कसैकसैबाट भइरहेको पाइएकोले सोप्रति दुःख व्यक्त गर्दै तथ्यसहितको तर्कविना कुनै पनि खालका सतही टिका–टिप्पणी नगर्न–नगराउन सम्बद्ध पक्षमा आग्रह गरिन्छ ।’

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर