धादिङको खनियाबाँस गाउँपालिका– ५, साइस्वाँरामा बुधबार राति गएको पहिरोमा पुरिएर एकै परिवारका ३ जना र अर्को परिवारका २ जना गरी ५ जनाको मृत्यु भएको छ ।
पहिरोमा पुरिएर करिव ३२ वर्षीया वसुदा गुरुङ र उनका २ छोरी– १० वर्षिया लक्ष्मी र ५ वर्षिया सरस्वतीको मृत्यु भएको हो । त्यसैगरी, ६५ वर्षिय शम्शेर घले र उनकी ६२ वर्षीया श्रीमती कोप्ची घलेको पनि सोही पहिरोमा पुरिएर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेयले बताएका छन् ।
यसै पहिरोमा परेर ५ जना घाइते भएका छन् । नाम नखुलेका सबै घाइतेको किन्ताङफेदीस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । वर्षाका क्रममा घर माथिबाट बुधबार बेलुकी १० बजेतिर पहिरो खस्दा पुरिएर ५ को मृत्यु र ५ घाइते भएका हुन् ।
घटनास्थलमा बिहीबार बिहानैदेखि प्रहरी परिचालन गरिएको प्रजिअ पाण्डेयले बताएका छन् । जिल्ला सदरमुकामबाट एक दिनको दूरीमा अवस्थित घटनास्थलमा मृतकहरूको पोस्टमार्टम गर्न घटनास्थलमा स्वास्थ्यकर्मीको टोली पठाइएको छ ।