शुक्रबार बिहान सोलुखुम्बुको नेचा सल्यानमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।
सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) ले भने ७ जनाको मृत्यु भएको भनी गलत समाचार सम्प्रेषण गरेको छ ।
नेचा सल्यानबाट काठमाडौं जाँदै गरेको ना. ज १८६० नम्बरको जिप शुक्रबार बिहान दुर्घटना हुँदा उदयपुर सिरिषेका २१ वर्षिय जिप चालक कुसाङ तामाङसहित ५ यात्रुको निधन भएको हो । सिरहा जिल्ल चनौठा– १ का ३६ वर्षिय शिवकुमार यादव, खोटाङ जिल्ला खाल्डे गाउपालिका– ८ की २४ वर्षिया कोपिला बस्नेत (कार्की), सोलुखुम्बु जिल्ला नेचा गाउँपालिका– २ की उर्मिला बस्नेत, सोही स्थानकी सुशीला खड्का र ओखलढुङगा जिल्ला माम्खा– ५ का श्यामकुमारको दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जनाएका छन् ।
दुर्घटनाका क्रममा गम्भीर घाइते भएकी करिव ८ वर्षिया बालिका सुष्मा खड्काको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौं लैजाने तयारी भइरहेको बताइएको छ । जिप तिङ्ला र सल्यानको सीमानामा पर्ने गुप्तेश्वर महादेवको मन्दिर नजिकबाट करिव ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।