newskoseli.Com

विभिन्न सवारी दुर्घटनामा ४ को मृत्यु, २ घाइते

बबई गाउँपालिका– ७, चरकमटियामा भे. १ त ६०९१ नम्बरको ट्याक्टरले रा. १ प ६४९० नम्बरको मोटरसाकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३० वर्षीय केवल बस्नेत गम्भीर घाइते भएकाले सिटी अस्पताल तुल्सीपुर पठाइएकोमा उपचारका क्रममा मंगलबार मृत्यु भएको छ । दुवै सवारी साधन र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी, तामाकोशी गाउँपालिका– १, माझीगाउँस्थित तामाकोशी–किर्नेटार (दोलखा) सडकमा मंगलबार बा. १९ च ५४२० नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिव २ सय मिटर तल खसेर दुर्घटना हुँदा भीमेश्वर नगरपालिका– ७, मकैबारी बस्ने ५५ वर्षीय मनहरि थापाको मृत्यु भएको छ ।

दुर्घटनामा कालिन्चोक गाउँपालिका– ८ सुनखानी बस्ने ३५ वर्षीय नारायण शिवाकोटी र चालक सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका– ५ घर भएका २८ वर्षीय कर्णबहादुर कुसुले घाइते भएकाले कर्णबहादुरलाई ट्रमा सेन्टर र नारायण शिवाकोटीलाई अन्नपूर्ण न्युरो अस्पताल माइतीघर काठमाडौंमा लगिएको छ ।

यस्तै, जितपुर सिमरा उपमहानगरपालिका– २१, बाराको आधाभार जंगलस्थित पूर्व–पश्चिम राजमार्गमा मंगलबार ना. ३ ख ९६१९
नम्बरको ट्रिपर र ना. ५१ प ६४८ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा मोटरसाइकल चालक जितपुर सिमरा उपमहानगरपालिका– १ बस्ने ३२ वर्षीय दिनेश कार्कीको घटनास्थलमै मृत्यु भएको छ । दुवै सवारी साधन र ट्रिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै, कपिलवस्तु नगरपालिका– ५, तौलिहवा–गोटीहवा सडकखण्डमा युपी ३२ सीएच ६८७६ नम्बरको मोटरसाइकलको पछाडि सवार सोही ठाउँ बस्ने ४० वर्षीय अजरुन निशा मंगलबार मोटरसाइकलबाट खस्न गई गम्भीर घाइते भएकीले जिल्ला अस्पताल तौलिहवा पठाएकामा उपचारकै क्रममा मृत्यु भएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी प्रधान कार्यालयस्थित केन्द्रीय प्रहरी समाचार कक्षले बुधबार जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर